प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो छ कार्यतालिका

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १०:१४
तस्बिर–रातोपाटी

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ९ बजे भारत प्रस्थान गरेका छन् । उनी तीनदिने राजकीय भ्रमणका लागि ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक निर्माण तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संघीय संसद्का सदस्य, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारी सहभागी छन् ।

उनी नेपाल एअरलायन्सको नियमित उडानबाट बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली ओर्लनेछन् । विमानस्थलबाट प्रधानमन्त्री ओलीसीधै राष्ट्रपति भवनमा पुग्नेछन् । त्यसपछि राष्ट्रपति भवनमा केहीबेर आराम गरेपछि उनले भारतीय उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय व्यवसायीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ उनी नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।

रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएको छ । भारतीय समकक्षी मोदी र ओलीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुने बताइएको छ ।

शनिबार बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् । त्यसपछि भारतीय सेनाले ओलीलाई ‘गार्ड अफ अनर’ दिएपछि प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम तय भएको छ । भेटपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुग्नेछन् । उनले त्यहाँ दीप प्रज्वलन गर्ने छन् । हैदरावाद हाउसमा सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुनेछ । दुवै नेताले दिल्लीबाटै वीरगन्जमा रहेको एकीकृत चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हैदरावाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुनेछ । पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ भने भारतीय नेताहरूले पनि शनिबारै भेट गर्नेछन् । यस्तै इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि ओली सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज आयोजना गर्नेछन् भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् ।

दिल्ली भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम छ । उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्दल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा उनी सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिनेछ । प्रधानमन्त्री सोही दिन साँझ स्वदेश फर्कने तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*