चर्चित नायक सलमान खान कालो हरिण केसमा ५ वर्ष जेल चलान
एजेन्सी, २२ चैत । २० वर्ष पुरानो कालो हरिण शिकार मुद्दामा सलमान खान दोषी ठहरिएका छन् । जोधपुरको सीजेएम कोर्टले सलमानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । सन् १९९८ जोधपुरमा सिनेमा ‘हम साथ साथ हे’को छायाँकनको क्रममा सिनेमाका स्टारकास्टविरुद्द कालो हरिण शिकारको केस दर्ता गरिएको थियो । सिनेमाका अन्य आरोपिहरु सैफअलि खान, तब्बू, निलम र दुष्यंतललाई भने अदालतले छोडदिएको छ ।
सलमानका वकिलले २ वर्षको जेल सजाय माग गरेका थिए । त्यस्तै सरकारी वकिलले ६ वर्षको सजाय माग गरेका थिए । अन्त्यमा सलमानलाई ५ वर्षको सजाय सुनुवाई भएको हो । बिश्नोई कम्युनिटीले सलमानको कालो हरिण शिकारको केस दर्ता गरेको थियो । बिश्नोई कम्युनिटीले दुर्लभ प्रजातिको कालो हरिणलाई संरक्षण गर्दै आइरहेको छ । पछिल्लो अपडेट अनुसार सलमानलाई मेडिकल चेकका लागि लिइएको छ । त्यसपछि जोधपुर सेन्ट्रल जेलमा लगिनेछ । जोधपुर जेलका डीआईजी विक्रम सिंहले फैसलालाई मध्येनजर गर्दै जेलमा सबै सुरक्षा र तयारि सकिएको जानकारी दिएका छन् । बाथरूम राम्रो अवस्थामा छ । अन्य कैदीलाई जस्तै खाना सलमानलाई पनि दिइनेछ ।
