रुट परमिट खारेज गर्ने चेतावनीपछि यातायात व्यवसायी पछि हट्यो
काठमाडौँ, २२ चैत । रुट पर्मिट नै खारेज हुने डर भएपछि आन्दोलनरत यातायात व्यवसायीहरु प्छि हटेका छन् । यातायात क्षेत्रमा ‘सिन्डिकेट’ लाद्न पाउनुपर्ने मागबाट यातायात व्यवसायी पछि हटेका हुन् । विगत चार दिनयता काठमाडौको कोटेश्वर हँुदै बनेपा पनौती चल्ने सार्वजनिक सवारी साधन नचलाई विरोधमा उत्रेका व्यवसायीले बिहीबारबाट पूर्ववत अवस्थामा आफ्ना सवारीसाधन चलाएका छन् ।
सरकारले गत १८ गते यातायातसम्बन्धी नयाँ निदेर्शिका र मापदण्ड ल्याएपछि त्यसको विरोधमा उत्रेका काठमाडौँ–बनेपा–पनौती चल्ने काभ्रे मिनिवस र मइक्रोबस व्यवसायी सरकार आफ्नो निर्णयबाट पछि नहट्ने संकेत देखेपछि आफ्ना सवारी साधन चलाउन बाध्य भएका हुन् ।
सरकारको निर्णय नमान्नेको रुट परमिट खारेज गर्ने यातायात व्यवस्था विभागको चेतावनीपछि व्यवसायी पछि हटेर पुर्ववत अवस्थामा उक्त रुटमा बस सञ्चलन भएको यातायात व्यवस्था विभागकले जनाएको छ ।
सरकारले उक्त रुटमा मयुर यातायात र साझा यातायातलाई रुट परमिट दिएपछि केही व्यवसायी आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवस्था विभागले बुधबारमात्रै सो रुटमा नयाँ आठ वटा समितिलाई अस्थायी इजाजत दिएको थियो । सरकारको पछिल्लो निर्णयअनुसार काठमाडौं–बनेपा रुटमा मयुर यातायातले सुविधायुक्त बस सञ्चालनमा ल्याएको थियो । मयुर यातायात चलेपछि कोटेश्वरपूर्वका १२ वटा समितिले आफ्ना सवारी साधन थन्क्याएर विरोध गरेका थिए ।
