एफसी महोत्तरी कोल्हवी गोल्डकपको फाईनलमा
–अनिल प्रित
बारा, २१ चैत । प्रथम कोल्हवी गोल्डकप २०७४ को प्रथम सेमिफाईनल खेलमा एफसी महोत्तरी विजयी हुँदै फाईनलमा प्रवेश गरेको छ । निजगढ युवा क्लव बारालाई टाईब्रेकरमा हराउँदै महोत्तरी फाईनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् । दुवै टिमले राम्रो मौका पाएका थिए तर दुबै टिम गोल गर्नबाट चुक्यो । दोश्रो हाफमा निजगढका जर्सि नम्बर २ का रमेश दङ्गालले खेलको ३६ औ मिनेटमा गोल गरि खेललाई १–० मा पुर्याए । उनले गोल गरेको १३ मिनेट नबित्दै महोत्तरीका जर्सि नम्बर १२ का मन्जित आलेले गोल गरि १–१ को बराबरी गरे । निश्चित समयअवधिमा खेल बराबरीमा टुङ्गिएपछि टाईब्रेकरमा नतिजा निकालिएको हो । टाईब्रेकरमा निजगढका जर्सि नं. ५ का सुन्दर लामा, जर्सि नं. ११ का शन्नी चौधरीले प्रहार गरेको बललाई महोत्तरीका गोल रक्षकले रोके । त्यसपछि निजगढकै जर्सि नं. १३ का दोर्जे लामाको बल पोलमा ठोकी आउट भयो । सोही टीमबाट जर्सि नं. ३ का बिमल धामीले प्रहार गरेको बल गोलमा परिणत भयो ।
यता महोत्तरीका तर्फबाट जर्सि नं. ८ का सन्तोष राईले गोल गरे , जर्सि नं.९ का रन्जित आले प्रहार गरेको बल आउट हुन पुग्यो । सोही टीमका जर्सि नंं. १६ का उमेश थापा र जर्सि नं. १७ का बसन्त सिलवालले प्रहार गरेको बल गोल रक्षकले रोक्न सकेनन् । अन्ततः ३ –१ ले एफसी महोत्तरी विजयी भएको हो । खेलको दोश्रो सेमिफाईनल खेलमा भोलि बारा –११ र हेटौँडा भिड्ने संयोजक त्रियोगी प्रसाद राउत थारुले बताए ।
प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५० हजार सिल्ड ,मेडल र प्रमाणपत्रका साथै उपविजेताले नगद रु. ७५ हजार सिल्ड ,मेडल र प्रमाणपत्र पाउने छन् ।
