मकवानपुरका तालिम प्राप्त डकर्मीले दिए परीक्षा
शिव चौलागाँई
मकवानपुर २१ चैत । मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिले लिएको परीक्षामा सहभागी भएका छन् । स्थानीय स्रोत साधन प्रयोग गरी भूकम्प प्रतिरोधि घर निर्माण सम्बन्धि ५० दिने तालिममा सहभागी भएका उनीहरुले सरकारबाट मान्यता प्राप्त दक्ष डकर्मी बन्नका लागि परीक्षा दिएका हुन् ।
बकैया ५, छतिवन, श्रीपुर र बकैया ७ छतिवन हातीखोलाका तालिम प्राप्त १६ जना डकर्मी परीक्षामा सहभागी भएका हुन् । तालिम लिएका डकर्मीहरुले आधिकारिक प्रमाणपत्र प्राप्त गर्नका लागि आफूले सिकेको शिप प्रयोगात्मक रुपमा प्रस्तुत गर्नुका साथै घर निर्माण सम्बन्धि विभिन्न मौखिक प्रश्नको उत्तर दिए ।
परीक्षामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिका प्रतिनिधी सुजन भट्ट, गाउँपालिकाका सव इञ्जिनियरहरु भुपेन्द्र यादव, निशा डङ्गौराले सहभागीको परीक्षा लिएका थिए ।
बाल कल्याण समाज मकवानपुरको आयोजना तथा मर्सिकोर नेपालको सहयोगमा सञ्चालन गरिएको तालिममा सहभागी भएका डकर्मी आफूले सिकेको शिपको मान्यता पाउँन परीक्षामा सहभागी बनेका हुन् ।
परीक्षामा सहभागी बनेर प्रमाणपत्र प्राप्त गरेपछि पेशागत रुपमा अघि बढ्नका लागि अवसरहरु प्राप्त हुने उनीहरुको विश्वास छ । सीप परिक्षण केन्द्रले लिएको परीक्षामा सहभागी भएका बकैया ७, छतिवन, हात्तिखोलाका सञ्जीव राई अब सरकारले आफ्नो क्षमताका आधारमा दिने सर्टिफिकेटले रोजगारीका अवसर दिने बताउँछन् । ‘विना तालिम घर निर्माणका काम गरियो तर तालिमले परिपक्व बनाउँदै अहिले स्वरोजगार हुने अवसर दिलाएको छ ।’
उनी भन्छन्, ‘अब प्रमाणपत्र पाइयो भने भविष्यका लागि थप सहजता होला भन्ने लागेको छ ।’ वैदेशिक रोजगारका क्रममा समेत निर्माणको काम गरेका उनलाई स्वदेश फर्किएपछि लिएको तालिमले अनुभवी बनाएको छ । भन्छन्,‘तालिम लिएर राम्रो काम गर्नसक्ने प्रमाणपत्र सरकारबाट पाउँछु भन्ने आशमा परीक्षा दिए, संरचना निर्माण सम्बन्धि अरु कामको अवसर दिलाउँन सरकारले दिने सर्टिफिकेटले सहयोग गर्छ भन्ने लाग्छ ।’
परीक्षामा सहभागी बनेकी मखमली माझी पनि तालिममा सिकेको सीपको प्रमाणपत्र पाउँन पाए आफूलाई भविष्यका लागि सहज हुने बताउँछिन् । तालिम लिएर परीक्षा दिएका बकैया ५,छतिवन, श्रीपुरका नोटस्याङ स्याङ्तान पनि आफूलाई सीप विकास परिक्षण समिति अब दिने प्रमाणपत्रले ठूलो महत्व राख्ने बताउँछन् । ‘परीक्षामा उत्तिर्ण हुन पाए राज्यले मान्यता दिएको मिस्त्रि भन्ने परिचय पाइन्छ ।’ उनी भन्छन्, ‘सर्टिफिकेट भएको मान्छेलाई गाउँघरमा खोजी खोजी काम लगाइन्छ भन्ने विश्वास छ ।
परीक्षामा केन्द्राध्यक्षको भूमिका निर्वाह गरेका बालकल्याण समाज मकवानपुरका लेखा अधिकृत केशव दाहालले गाउँमा ५० दिने तालिममा सहभागी भएका २० जनामध्ये १६ जनाले परीक्षामा सहभागिता जनाएको बताए । जिल्लादेखि स्थानीय तहसम्म आपसमा समन्वय गरी प्रदान गरिएको तालिमका सहभागीलाई भविष्यका लागि सघाउ पु¥याउने उद्घेश्यले सिटिइभिटीबाट परीक्षा दिलाउन आफूहरुले सहजीकरण गरेको उनको भनाई छ ।
तालिममा सहभागी बनेकाहरु अहिले दक्ष मिस्त्रिका रुपमा गाउँमै स्वरोजगार हुनु तालिमको प्रभावकारिता रहेको उनले बताए । ‘हामीले प्रदान गरेको तालिमले घर निर्माणका लागि सामान्य काम गर्नेहरु अहिले घर निर्माणको पूरै ठेक्का नै लिन थालेका छन् । ’ उनले भने ।
भूकम्पीय पुनर्लाभ परियोजना अन्तर्गत तालिममा सहभागी भएका डकर्मीहरु अहिले गाउँमै स्वरोजगार हुन थालेका छन् । तालिम लिएका मध्ये अधिकांश गाउँमै पुननिर्माणको काममा व्यस्त बनेका छन् । ‘पहिले खासै सीप नहुँदा कसैले काम गर्न बोलाए हुन्थ्यो भन्ने लाथ्यो । तालिम प्राप्त मिस्त्रि सञ्जीव राई भन्छन्, ‘अहिले काम गरेर भ्याई नभ्याई छ । ’ विगतमा दैनिक पाँच रुपियामा काम गर्दै आइरहेका उनीहरु तालिम प्राप्त डकर्मी बनेपछि एक हजार रुपिया ज्याला पाउँने भएका छन् ।
परियोजनाका अधिकृत रामप्रसाद दाहाल संस्थाको उद्घेश्य गाउँमा दक्ष डकर्मी तयार पारेर भूकम्पले क्षति गरेका संरचना निर्माणमा सघाउ पु¥याउने रहेको बताउँछन् ।
