घरभित्रै जल्नबाट बच्यो मकवानपुरगढीका योञ्जन परिवार, घर र दुई लाख नगद जल्यो

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार १२:३४
आगलागीबाट जलेको घर

–भुवन घलान
मकवानपुर, २० चैत ।
मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा नरबहादुर योञ्जन आईतबार चर्को घाम लागिरहेको भएर खाना खाएपछि घरभित्रै आराम गर्न बसेका थिए । आराम गरिरहेका उनको आँखा तुरुन्तै लाग्यो तर उनी त्यतिखेर झस्किए जब उनको घरमा ह्वारह्वार्ती आगो लागिरहेको थियो ।

उनी घरभित्रै निदाइरहेको सयमा एक्कासी आगो लागेको हो । साह्रै तातो राप आएको महसुस भएपछि बिउँझिएर हेर्दा घरमा चारैतिर पुरै छानो जलिसकेको थियो र घरको छानो खरको भएकोले आगो नियन्त्रण गर्न सक्ने सम्भावना भएन । आगलागी भएपछि परिवारको अन्य सदस्यलाई पनि कष्टपुर्वक उद्वार गरियो । घर बाहिर रहेको भान्सा नजिकै राखिएको डोकोमा आगो सल्के पछि आगलागी भएको योञ्जनले सुनाए ।

आगलागीबाट जलेको घर

मध्यान्हको चर्को घामले गर्दा बढेको गर्मीको कारण आराम गर्ने समय परेकोले छिमेकीहरुले पनि आगलागी भएको पछि मात्रै थाहा पाएको स्थानीय शान्ति घलानले बताए । घलानका अनुसार आगलागी भएको जानकारी भए पश्चात छिमेकीहरु तत्काल आगो नियन्त्रणमा जुटे पनि आगोलाई नियन्त्रणमा लिन सकिएन र घर पुरै खरानी बन्यो ।

आगलागी हुँदा दुई लाख नगद सहित सिङ्गो घर नै नष्ट भएको छ । दुई कोठाको नयाँ घरमा प्लास्टरको लागि जुटाएको दुई लाख नगद समेत आगोले जलाए पनि अहिले योञ्जन परिवार पिडामा छ । आगलागीमा सम्पुर्ण अन्नपात, लत्ताकपडा र सर्वस्व जलेर खरानी भएको योञ्जन बताउँछन् ।

आगलागीबाट जलेको घर

घर जलेपछि योञ्जन परिवारले सो कुराको जानकारी गराउँदै स्थानीय जनप्रतिनिधिसँग सहयोग मागेका छन् । घरमा अन्नपात र लत्ताकपडा समेत नभएकोले जनप्रतिनिधि र स्थानीय तहले दिन सक्ने राहत अनुसारको सहयोगको लागि अपिल गरेका छन् । जनप्रतिनिधिहरुले योञ्जनको जलेको घरको अवलोकन सहित समस्याका बारेमा जानकारी लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*