घरायसी विवादमा श्रीमतीलाई मुढाले हिर्काएर हत्या
दमक, १९ चैत । घरायसी विवादकाबिच झापामा एक श्रीमानले काठको मुढाले टाउकामा हिर्काएर श्रीमतीको हत्या गरेका छन् ।
झापाको गौरीगञ्जमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुढाले टाउकामा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते निमाथोकीको उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा गएराति नै मृत्यु भएको हो । पासाङलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
