३० जना प्रहरीलाई विपद व्यवस्थापन आधारभूत तालिम
काठमाडौं, १८ चैत । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्ववाधानमा विपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित तेस्रो समूहको विपद व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नारायण सिंह खड्काले आइतबार आयोजित एक समारोहबीच प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै विपद आइपरेको समयमा सकारात्मक सोचका साथ प्रशिक्षणबाट सिकेका ज्ञान,सिपलाई उपलव्ध औजारको तरिकाबद्ध प्रयोग गरी पीडितको उद्धार गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले स्वागत मन्तव्य तथा तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २४ गते देखि संचालित ४० दिन कार्यावधिको तालिममा प्रहरी नायव निरीक्षक १ र प्रहरी जवान २९ गरी ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । सो अवसरमा प्रशिक्षार्थीहरुकोतर्फबाट प्रहरी नायव निरीक्षक योगेन्द्र सिंह मौनीले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो ।
