मेलम्ची खानेपानी आयोजनामा मुख्यमन्त्री पौडेलको टोली
काठमाडौँ, १८ चैत्र । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको टोलीले निकै नै चर्चा भए पनि लामो समयदेखि पुरा नभएको मेलम्ची खानेपानी आयोजनाको आज अनुगमन गरेका छन् । काठमाण्डौँको खानेपानी समस्यालाई कम गर्नको लागि निकै महत्वपूर्ण योजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको विषयमा चासो देखाउँदै मुख्यमन्त्री पौडेलले आयोजनाको अनुगमन गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले आयोजनको प्रगतिको विषयमा जानकारी लिएका छन् । अनुगमनको क्रममा अब ६५ मिटर सुरुङ निर्माण गरेपछि योजनाको काम लगभग सम्पन्न हुने जानकारी गराईएको थियो । आयोजनाको दैनिक ५ देखि ७ मिटर सुरुङ निर्माण भैरहेको समेत जनाईएको छ ।
सुरुङ खन्ने काम बैशाख १ गतेसम्ममा सम्पन्न गर्ने र सुन्दरीजलसम्म पानी ल्याउने काम समेत हुने आयोजना प्रतिनिधिले मुख्यमन्त्री पौडेललाई जानकारी दिएका थिए । सुरुङ निर्माणपछि गर्नुपर्ने सफाइ, कंक्रिटिङ, ढलान तथा उपत्यकाभित्र पाइपलाइन विस्तार पूरा नभएकाले मेलम्चीको पानी पिउन अझै ३–४ महिना कुर्नुपर्ने अवस्था आएको छ । कूल २७ दशमलब ५ किलोमिटर लामो उक्त सुरुङको हाल सफाईको काम पनि भइरहेको छ । मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याउने लक्ष्यका साथ झन्डै डेढ दशकअघि देखि काम सुरु भए पनि अझै योजना सफल हुन सकेको छैन ।
