क्रिकेट रंगशाला बनाउन कम्मर कँसेका धुर्मुस र जिग्रीलाई जग्गा खोज्न मुख्यमन्त्रीले दिए साथ
काठमाडाैं / कलाकारितासँगै सामाजिक अभियन्ताका रूपमा ख्याती कमाएका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सन्तुलीले नेतृत्व गरेकाे धुर्मुस सुन्तली फाउण्डेसन यतिवेला फेरि चर्चामा छ ।
याे फाउन्डेसनले लाखाैँ नेपालीकाे धुकधुकीमा रहेकाे क्रिकेट खेलकाे विकासका लागि रंगशाला निर्माण गर्ने घाेषणा गरेकाे छ । र, शनिबारबाट फाउन्डेशनले जग्गाकाे खाेजी गर्न थालेकाे छ ।
धुर्मुससहित फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको साथमा भक्तपुरको चाँगुनारायण नगरपालिका -४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ ।
जग्गा हेर्न मुख्यमन्त्री पाैडेलसँगै फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल र उनका भार्इ तथा चर्चित कलाकार जिग्री पनि पुगेका थिए ।
जग्गा हेर्ने क्रममा उनले रंगशाला निर्माणका लागि क्रिकेट प्रेमीहरूले सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे तथा केन्द्र र प्रदेश सरकारले समेत सकारात्मक लिएकाले उत्साही भएकाे बताए ।
