मुख्यमन्त्री शेरधन रार्इका विरुद्ध विप्लव नेतृत्वको नेकपाको वारेन्ट, १५ दिनभित्र उपस्थित हुने आदेश

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार १८:३५
file-photo

काठमाडौं, १७ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहतको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै उनकाे घरमा पुर्जी टाँसेको छ ।

भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र नविास नजिकै रहेको शिक्षा ज्योती माध्यमिक विद्यालय पसल भन्ज्याङ र साविक गा.वि.स.को कार्यालय तथा हालको वार्ड कार्यालयमासमेत पुर्जी टाँसिएको स्थानीयले बताएका छन् ।

शुक्रबार दिउँसो राईको निवासमा उनको बाबु जागिरमान राईको उपस्थितिमा केन्द्रीय जनअदालतबाट जारी गरिएको उक्त पुर्जी टाँसिएको छ । उक्त पूर्जीमा भनिएको छ -‘राईबिरुद्ध मुद्दा परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ ।’

तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनसुसार कारवाही हुने जनअदालतले जनाएको छ।

यस्तो छ पुर्जी

“जागिरमान राईको छोरा भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हला आमचोक गाउँपालिका वडा नं. ३ बस्ने तपाई शेरधन राईको विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा ‘२०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जन–स्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु हेमन्त प्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैर कानुनी रुपमा धनकुटामा थुनामा राखेको’ भन्ने मुद्दा परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनसुसार हुने कुराको जानकारी समेत गराइन्छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*