अाेली सरकारलार्इ डा. केसीले दिए १५ दिने अल्टमेटम, माग पूरा नभए फेरि अामरण अनशन बस्ने, यस्ता छन् माग
काठमाडाैं / चिकित्सा क्षेत्र सुधारका लागि भन्दै पटकपटक अनशन बस्दै अाएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले केपी अाेली नेतृत्वकाे सरकारलार्इ १५ दिने अल्टिमेटम दिएका छन् ।
अाेली सरकार समक्ष विभिन्न चारबुँदे माग राख्दै उनले सरकारलाई १५ दिने अल्टिमेटम दिएका हुन् । अाफूले राखेका माग पूरा नभए अनशन बस्ने उनले चेतावनीसमेत दिएका छन् ।
डा. केसीले अाज जारी गरेकाे विज्ञप्तिमा चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारूपमा पारित गर्न माग गरिएकाे छ ।
यसैगरी, चिकित्साशिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरिएकाे छ ।
त्रिविले खोसेका अधिकारहरू आर्इओएममा फिर्ता गर्दै आर्इओएमलाई थप स्वायत्तता दिनु पर्ने र त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोकेअनुरुप स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गर्नु पर्ने पनि उनका माग छन् ।
यसैगरी उनले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन र उचित कारबाहीकाे समेत माग गरेका छन् ।
विज्ञप्तमा मागहरु चैत्र महिनाभित्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै नभए सत्याग्रह आन्दोलन शुरु गर्ने चेतावनी दिइएकाे छ ।
