‘उमेरले ७० काट्यो, नागरिकता दिदैनौँ बाबु ?’
बलराम पुडासैनी
मकवानपुर, १६ चैत । मकवानपुरको हेटौंडामा रहेको ओम बृद्धा आश्रममा रहेका १२ जना बृद्धबृद्धाहरुको नेपाली नागरिकता छैन । नागरिकता नभएकै कारण नेपाल सरकारले प्रदान गर्ने सामाजिक शुरक्षा भत्ता अपाङगता भत्ता जस्ता सेवा तथा सुविधाबाट समेत उनीहरु बन्चित हुँदै आएका छन् ।
केहि अपाङ्गता भएका बृद्धबृद्धाहरु छन् भने केहि बोल्नै नसक्नेहरु पनि छन् । नागरिकता नभएको कारण उनीहरुको अपाङगता प्रमाणित गर्ने कागजपत्र समेत बनेको छैन ।
त्यसो त तिनै बृद्ध बृद्धाहरुलाई खाना बनाएर खुवाउने रेखदेख गर्ने जिम्मेवारी लामो समयदेखि सम्हाल्दै आएकी गोमा काफ्लेको पनि नागरिकता छैन् । उनी भन्छिन् ‘नागरिकता बनाउनको लागि अविभावक कोही छैन । प्रशासनलाइ प्रमाण पुगेन त्यसैले हामी बेसाहारा बन्यौँ

जन्मेर हुर्केको ७० बर्ष भयो तर हामी नेपाली नागरीक समेत हुन नपाएको पिडामा बाँच्दै आएका छौँ’, अर्का बृद्ध मोहन प्रसाद खत्रीले भने ।
नागरीकता बनाउनको लागि साधारण प्रक्रिया समेत नजानेका त्यहाँका बृद्ध बृद्धाहरुको लागि चासो देखाउनेहरु थुप्रै पुगेकोे तर कोही पनि फर्किएर नगएको उनीहरुको गुनासो छ ।
यस विषयमा हामीले आश्रम व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रसाद पौडेललाई जिज्ञासा राख्दा उनले आफुहरुले नागरिकता बनाउनको लागि सक्दो पहल गरीरहेको तर लामो समयदेखि आश्रमा बस्दै आएका बृद्धहरुको घरपरिवारको बारेमा समेत केही जानकारी नभएको र प्रशासनले मागेको कागजपत्र नपुगेको कारण आफुहरु अन्यौलमा परेको उनले जानकारी दिए ।

मकवानपुरको प्रशासनसंग बारम्बार नागरीकता बनाउनको लागि आफुहरु दौडिएको तर प्रशासनले पनि वास्ता नगरी बरु पन्छिन खोजेको उनले पौडेलको गुनासो छ । अपाङ्गता परिचयपत्र नभएको कारण सवारी साधनमा चढ्दा होस या अन्य स्थानमा सवैले वेवास्था गर्ने गरेको साथै भाडामा केही सहुलियत नभएको अर्का बृद्धा राम बहादुर बोहराको गुनासो छ ।
हामीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासंग कुराकानी गर्दा परिचय खुल्ने काजगपत्र नभएसम्म नागरीकता दिन कुनै हालतमा पनि नमिल्ने बताए । यसको बिकल्पको बारेमा समेत आफुलाई केही जानकारी नभएको कारण अब नागरीकता बनाउन संभव नभएको उनले बताए ।

ज्येष्ठ नागरीकको लागि अन्य किसिमका सम्मानको त कुरै छोडौं नेपाली नागरीक हो भनेर प्रमाणित गर्ने नेपाली नागरीकता सम्म दिन सकेको छैन मकवानपुरको प्रशासनले । यस विषयमा चासो समेत लिँदैन । घरका अन्य परिवारले वास्ता नगरेको कारण आश्रममा बस्दै आएका उनीहरु संग गुनासो र आशा बाहेक अरु केहि छैन ।
आश्रममा रहेका नागरिकता नहुने जेष्ठ नागरीकहरुको नामावली ,
१ अबोल अन्जन ३५ बर्ष
२ उद्धव खड्का ४० बर्ष
३ रमा रुपाखेती ६५ बर्ष
४ मोहन प्रसाद खत्री ७० बर्ष
५ दिल बहादुर थापा ६४ बर्ष
६ राम बहादुर बोहरा ६४ बर्ष
७ लाल बहादुर बिष्ठ ७५ बर्ष
९शान्ती कोईराला ६५ बर्ष
१० अबोल यादव बर्ष नखुलेको
११ गोमा काफ्ले ६२ बर्ष
१२ उमेर र परिचय नखुलेका एक जना
