मूख्यमन्त्री पौडेललाई ‘प्रेसर’
मकवानपुर । मुख्यमन्त्री डोरमणि पौडेल आफ्नो दायित्वको कामहरुले गर्दा निकै प्रेसरमा छन् । उनले प्रदेशभित्र आफ्नो अधिकारभित्रका काम त गर्नु नै छ त्यसबाहेक पनि उनी स्थायी राजधानी यहाँ रहने कि नरहने भन्ने कुरामा प्रेसरमा छन् ।
एमाले स्रोतका अनुसार, केही दिनअघि काभ्रेका साँसदहरुले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट काभ्रे कायम हुनुपर्ने भन्दै सँसद सचिवालयमा निवेदन दर्ता गराएपछि पौडेल प्रेसरमा छन् । अघिल्लो सरकारले राजधानी तोक्दा बरु ३ नम्बर प्रदेश शान्त अवस्थामा थियो । अन्य ठाउँहरुमा अस्थायी राजधानी ( मुकाम) का लागि आन्दोलन भएपनि यो प्रदेशमा त्यस्तो कुनै प्रकारको आन्दोलनको सामना उतिबेलाको सरकारले गर्नु परेको थिए ।
अहिले काभ्रेबाट एमाले साँसदहरुले काभ्रे लैजान माग गर्दै निवेदन दर्ता गराए भने हिजो बिहान हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पसको एमाले समर्थिक विद्यार्थीहरुको होल्डमा रहेको स्वबियूले हेटौंडामै रहनुपर्छ भनेर विरोध जुलुस निकाल्यो । हिजै नुवाकोट र रसुवाका साँसदले पनि आफ्नै तिर राजधानी सार्न माग गर्दै अर्को निवेदन दर्ता गराए ।
एमालेकै तर्फबाट मुख्यमन्त्री भएका पौडेललाई राजधानी यता लैजाने र उता लैजानेहरुले निकै प्रेसर क्रिएट गरिरहेका छन् ।
तीन नम्बर प्रदेशको मन्त्री परिषद् विस्तार भएको निकै दिन बितेको भएपनि सरकारले खासै योजना बनाएर काम गर्न नसकिरहेको जनगुनासो बढिरहेका बेला राजधानीको लफडाले पौडेललाई अझै दबाब बढ्न सक्ने अवस्था छ । पौडेलले राजधानीसँग आफ्नो मुख्यमन्त्री पद साटेको हल्ला चल्दै आइरहेको छ, जसका कारण उनलाई पनि राजधानी मकवानपुरै राख्न दबाब छ, स्रोतले भन्यो ।
मन्त्रीपरिषद् विस्तारकै सुरुवातदेखि भौतिक योजना तथा निर्माण मन्त्री केशब स्थापितले राजधानी सार्ने भन्दै हिँडेका थिए । त्यतिबेला त्यतिसाह्रो दबाबमा नदेखिएपनि अहिले काभ्रेका आफ्नै माननीयहरुको दबाब र मकवानपुरमा आफ्ना शुभचिन्तकहरुको आन्दोलनलाई पौडेलले कसरी सेफ ल्याण्डिङ गर्छन्, त्यो भने हेर्न बाँकी छ ।
हुन त यो प्रकरण साँसदको क्षेत्राधिकारको बिषय हो । तर, त्यसो भनेर मुख्यमन्त्री यसबाट टाँढा रहन सक्ने अवस्था बन्दैन ।
