अाेली सरकारमाथि थपियाे चुनाैति, बलात्कारका घटना बढ्दै, आमाको उपचार गर्न अाएकी युवती नक्कली डाक्टरबाट बलात्कृत
काठमाडाैं / बलात्कारलगायतका महिला हिंसाका घटना केपी शर्मा अाेली नेतृत्वकाे सरकारका लागि चुनाैतिका रूपमा देखिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा कायम गराउन सबै सुरक्षा निकायलार्इ हाइअलर्टकाे अवस्थामा राखेकाे भए पनि महिलामाथिका हिंसामा कमी अाउन सकेकाे छैन ।
पछिल्ला केही दिनदेखि बलात्कार, कुटपिट र दुर्व्यवहारका घटना बढिरहेका छन् । राजधानीमा फेरि युवती बलात्कार भएकाे घटना सार्वजनिक भएकाे छ ।
काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी हुन् ।
नक्कली डाक्टर बनेर युवती बलात्कार गर्ने पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालालार्इ प्रहरी नियन्त्रणमा लिइसकेकाे छ ।
काठमाडौं प्रहरी परिसरका अनुसार अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै विश्वासमा पारेका थिए ।
अाफ्नो नाम सन्तोष घले बताएका काेइरालाले अस्पतालका डाक्टरहरूसँग राम्रो चिनजान भएको भन्दै आमाको उपचारमा सहयोग गर्छु भनेर विश्वास दिलाएका थिए ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा पीडितले दिएको जाहेरीमा उल्लेख भएअनुसार अर्जुनले युवतीलाई सामाखुसीस्थित आफ्नो सानीआमासँग भेटघाट गर्न भनेर मित्रनगरस्थित फूलबारी गेष्ट हाउस पुर्याएर बलात्कार गरेका हुन् ।
उनी यसअघि नेपाली सेनाको जवान रहेको खुलेको छ । त्यहाँ पनि उनी जबरजस्तीकरणी मुद्दामा परेर बर्खास्त भएका थिए ।
काेइरालाले बयानका क्रममा अाफूले जबरजस्तीकरणी स्वीकार गरेको प्रहरीको भनाइ छ । उनलार्इ अाज जिल्ला अदालतबाट ५ दिनलार्इ म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए ।
