बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले डोजर चलाए
धनगढी, १५ चैत । मेयर कतिसम्म शक्तिशाली हुन्छ भन्ने कुरा प्रदेश नम्बर ७ को कैलालीमा लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईले सावित गरिदिएका छन् । उनले आफ्नै अगुवाईमा मन्त्रीको घरमा डोजर चलाई दिएका छन् ।
प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घरमा सडक क्षेत्र अतिक्रमण गरेर मन्त्रीले घर बनाएको भन्दै मेयरको अगुवाईमा मन्त्रीको घर भत्काइएको हो ।अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको घरमा नगरपालिकाले डोजर चलाएको हो ।
नगरपालिकाले १५ दिने सूचना निकालेर अतिक्रमित घर भत्काउन भने पनि मन्त्री बोहराले घर स्थानान्तरण नगरेको र त्यसको लगत्तै लगातार ७ दिने र ५ दिने सुचना निकाल्दा समेत घर नसारेपछि मेयरको अगुवाईमा घर तोडिएको हो ।
बैंकिङ क्षेत्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका बोहराले यसैगरी कैलालीको दर्जनभन्दा बढी ठाउँमा सडक र सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् । लुम्की चुहा नगरपालिकालाई सुन्दर शान्त र समृद्ध बनाउने मेयर बजगाईको अभियानको क्रममा लम्कीमा मन्त्री बोहराले सडक अतिक्रमण गरेको भेटिएको थियो ।
