अटोको भाडा कम तोकिएको भन्दै आन्दोलन, प्रहरीद्वारा लाठी चार्ज
धनुषा, १५ चैत । धुनषामा ई–रिक्साको भाडा कम तोकिएको भन्दै ई–रिक्सा चालक तथा धनीहरु विरोधमा उत्रिएका छन् । विवाद बढेपछि प्रहरीले लाठी चार्ज समेत गरेको छ । अप्रिय घटना हुन नदिन भन्दै प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि समान्य लाठी चार्ज गरेको हो ।
एक साता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई–रिक्साहरुको भाडादर निर्धारण गरेको थियो । निर्णय कार्यान्वयन गर्न बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई–रिक्साहरुमा भाडादर स्टिकर टाँसेको थियो । भाडादरको बिरोधमा ई–रिक्सा जुलुस निकाल्न खोजेपछि बिहीबार पटक–पटक प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको थियो ।
महंगीको समयमा याताायत व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाईले आफूहरुको घरपरिवार खर्च धान्न समेत मुस्किल हुने ई–रिक्सा सञ्चालकहरुको गुनासो छ । जनकपुरमा झण्डै ३ हजार ई–रिक्सहरु सञ्चालनमा छन् ।
