थाहा नगरको मनि ट्रान्सफरबाट लाखौँ चोरीको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १४,बुधबार १९:१२

मकवानपुर, १४ चैत । मकवानपुरको थाहा नगरपालिकामा रहेको मनि ट्रान्सफरबाट लाखौँ चोरेको आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । थाहा नगरपालिका वडा नम्बर ९ मा भएको चित्लाङ मनि ट्रान्सफरबाट ७ लाख ६० हजार चोरी गरेको आरोपमा सोही वडामा बस्ने ५२ वर्षीय पदमबहादुर पोडे भन्ने ज्ञानबहादुर पोडेलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बस्ने किरण महर्जन र सोही स्थानमा बस्ने राजन कपालीले थाहा नगरपालिका वडा नम्बर ९ बस्ने धर्मलाल श्रेष्ठको घर भाडामा लिई मनि ट्रान्सफर सञ्चालन गर्दै आएका थिए । उक्त मनि ट्रान्सफरमा चैत ९ गते बिहान अन्दाजी २ बजेको समयमा चोरी भएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सोही दिन बिहान ८ बजेको समयमा प्रहरीले अनुसन्धान गर्दा ढोकाको ईन्ट्रि कल र ह्याण्डिल लकको ताला समेत तोडी घर्रामा रहेको नगद चोरी भएको पत्ता लागेको थियो घटनामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले पदमलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट चोरी मुद्दामा ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*