राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छः मुख्यमन्त्री राई

तु खबर संवाददाता
२०७४ चैत्र १४, बुधबार १८:१६

विराटनगर १४ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उनले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश नं १ सिक्किम, पश्चिम बंगाल र विहारसँग जोडिएकाले भारतका लागि महत्वपूर्ण रहेको बताए । सांसद शिवकुमार मण्डलले नागरिकलाई आत्मनिर्भर बनाउने शिक्षा नीतिको खाँचो रहेको बताए ।

मोरङको कटहरी–१ स्थित तीन कठ्ठा १५ जग्गामा निर्मित उक्त विद्यालय रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । बाह्र हजार वर्गफिटमा नवनिर्मित दुई तल उक्त भवनमा कार्यालय कक्ष, शिक्षक शिक्षिका कक्ष र शौचालयबाहेक १४ वटा कक्षा कोठा रहेका छन् ।

कक्षा ७ सम्म अध्यापन हुने यस विद्यालयमा २६३ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन निर्माणका लागि यस क्षेत्रका उद्योगी तथा व्यापारीले सहयोग गरेका थिए । पशुपति शिक्षा प्रसार समिति नेपालले मुलुकभरि ३५ विद्यालय निर्माण गरी दुई हजार ५०० छात्र र तीन हजार ५०० छात्राको पठनपाठनको व्यवस्था गरिरहेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*