२०४२ मा सुरु गरिएको सडक अझै अलपत्र

तु खबर संवाददाता
२०७४ चैत्र १४, बुधबार १४:४३
फाइल फोटो

केशबचन्द्र महरा
डोटी, १४ चैत ।
निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर–बोगटान–दिपायल सडकले पूर्णता पाउन सकेको छैन ।

कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माणकार्य थालिएको सडक हो ।

शुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सडक निर्माणले कछुवा गति लिएको हो । सडकको जंगल क्षेत्रमा वातावरणीय प्रभाव मूल्याँकनमा भएको ढिलाइले दुईवटा आर्थिक वर्षको बजेट फ्रिज भएको सडक विभागका निर्देशक शिवकुमार नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो,–“पहिला वतावरणीय प्रभाव अध्ययनमा भएको ढिलाइले बजेट फ्रिज भए पनि अहिले काम निरन्तर भइरहेको छ, सडक निर्माणका लागि रकमको अभाव छैन् ।”

बोगटान सडक डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक हो । सडकको निर्माण कार्य अलपत्र पर्दा यहाँको जीवनस्तर समेत माथि उठ्न नसकेको स्थानीयवासी धनबहादुर कलले बताउनुभयो । निर्माणाधिन यो सडकको निर्माणकार्य अनिश्चित भएपछि स्थानीयवासी निराश भएको उहाँले बताउनुभयो ।

छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालिकाको सहजपुरदेखि डोटीको बडिकेदार अतरकाँडासम्म मात्र सडक पुगेको छ । एक सय आठ किलोमिटर लामो सडकको अहिलेसम्म ६५ किलोमिटर मात्र ट्र्याक निर्माण गरिएको छ । ट्र्याक खोलिएको उक्त सडकमध्ये १८ किलोमिटरमा मात्र १२ महिना सवारी चल्ने गर्दछ ।

सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडक तत्कालीन समयमा कृषि सडकका रुपमा नामाकरण गरेर डोटीका साविकका १७ गाविसका कृषकलाई लाभ पुर्याउने उद्देश्यका साथ निर्माण शुरु भएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*