स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप गर्ने सपना नदेख: प्रम ओली
काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालस्थित सबै कुटनीतिज्ञहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर सबै विदेशी कुटनीतिज्ञलाई आफ्नो मर्यादामा रहन र इतिहासदेखि स्वतन्त्र राष्ट्रमा हस्तक्षेपको सपना नदेख्न कडा चेतवानी दिएका छन् । लामो समयसम्मको संक्रमणकाल अन्त्य गर्दै नयाँ संविधानको जगमा बनेको नयाँ सरकारले आफ्ना काम कारवाही र नीतिका सम्बन्धमा विदेशी कुटनीतिज्ञहरुलाई ब्रिफिङ गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले लिखित भाषण मार्फत विदेशी कुटनीतिज्ञहरुलाई मर्यादा, नेपाल र नेपालीप्रति हेर्ने दृष्टिकोण स्पष्ट पार्न समेत भनेका छन् ।
परराष्ट्र मन्त्रालयले संयोजन गरेको उक्त कार्यक्रमको सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्दै सरकारले सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको र नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको बताएका थिए । प्रधानमन्त्री ओलीले पहिलो पटक सामूहिक ब्रिफिङमार्फत सबै विदेशी कुटनीतिज्ञहरुलाई कुटनीतिक अभ्याससहितको मर्यादाको अभ्यास गर्न आह्वान समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले मुख्य छ वटा प्राथमिकता वर्तमान सरकारले लिएको अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट पारेका छन् । ओली सरकारले पहिलो प्राथमिकता राष्ट्रियता भएको उल्लेख गर्दै भनेका छन्, ‘नेपाल इतिहासदेखि नै स्वतन्त्र र सार्वभौम देश भएकोमा हामीलाई गर्व छ ।’ ओलीले यसो भन्नुको कुटनीतिक अर्थमा नेपाल स्वतन्त्र देश हो, हस्तक्षेपको कुनै सपना नदेख । प्रधानमन्त्री ओलीले उग्रराष्ट्रवादको जगमा गत मंसिरमा सम्पन्न भएको आम निर्वाचनमा बहुमत ल्याएको भन्ने विपक्षीहरुको आरोपलाई सरकारमा पुगेपछि काम कारवाहीमा समेत राष्ट्रवादलाई सबैभन्दा अगाडि राखेर अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री ओलीले दोस्रो प्राथमिताको रुपमा प्रजातन्त्रलाई अघि सार्दै अन्तर्राष्ट्रिय जगतलाई नेपालमा प्रतिस्पर्धात्मक राजनीतिमार्फत लोकतन्त्रको अधिकतम अभ्यास हुने प्रष्ट पारेका छन् । साथै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘लोकतन्त्रको जगलाई कसैले पनि हल्लाउन दिइने छैन । हामी यसको रक्षा गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तसँग कुनै प्रकारको सम्झौता हुनेछैन ।’
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई सामाजिक न्याय र समानतासहितको आर्थिक विकास स्थायी शान्तिको लागि काम गर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सामाजिक विविधता, विविधताभित्रको एकता नै नेपाली विशेषता बलियो राष्ट्रको मुख्य स्रोत हुनेछ ।’ प्रधानमन्त्री ओलीले नेपाली जनता हरेक निर्णयमा स्वतन्त्र रहेको उल्लेख गर्दै भनेका छन्, ‘हाम्रो संविधानले सार्वभौम सत्ता जनतामा नीहित गरेको छ, सार्वभौमसत्ता सम्पन्न नेपाली जनता आफ्नो भविष्य निर्माण गर्ने जस्तोसुकै निर्णय गर्न स्वतन्त्र छन् ।’
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई व्याख्या गर्न आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरी भने निन्याउरो मुख लगाएर बसेका थिए । उनलाई पहिलो पंक्तिमा नराखी दोस्रो पंक्तिमा राखिएको तथा प्रधानमन्त्री केपी ओलीले सम्बोधनको क्रममा नेपाली भूभागको रक्षासहित राष्ट्रियताको रक्षाको लागि सरकारको पहिलो प्राथमिकता भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरेको सम्बन्धमा भारतीय राजदूतले दिल खोल्न नसकेको रुपमा समेत हेरिएको छ ।
