अब हरेक महिना डिएसपीलाई ५० हजार, ईन्स्पेक्टरलाई ३५ हजार पुरस्कार
काठमाडौँ, १३ चैत । शिर्षक देख्दा तपाईँलाई अनौठो लाग्यो होला तर यो सत्य हो । अब काठमाडौँ प्रहरी परिसरमा हरेक महिना उत्कृष्ट ६ जना प्रहरीलाई नगद पुरस्कार प्रदान गरिने भएको छ ।
काठमाडौं प्रहरी परिसरले हरेक महिना ६ जना उत्कृष्ट प्रहरीलाई ‘काठमाडौं प्रहरी अवार्ड’ ले सम्मान गर्दै नगद पुरस्कार दिने भएको हो । प्रहरी नायब उपरीक्षक (डिएसपी) देखि प्रहरी जवानसम्म गरी ६ जनालाई हरेक महिना पुरस्कृत गर्न लागिएको प्रहरीले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले मातहतका प्रहरी अधिकृत मध्ये उत्कृष्ट प्रहरी नायब उपरीक्षकलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने बताएका छन् ।
पुरस्कारका लागि परिसरले नेपाल बंगलादेश बैंक लिमिटेडसँग सहकार्य गरेको छ । सम्झौता अनुरुप बैंकले प्रहरी अधिकारीलाई पुरस्कृत गर्न एक वर्षसम्मलाई १८ लाख ६० हजार रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।
