चेली बेच्ने कांग्रेसी पक्रिँदा ‘गाई जोडेर’ प्रतिशोध : उप-सभामुख तामाङ

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार १६:०७
file-photo

-नेत्र तामाङ
काठमाडौँ, १३ चैत ।
प्रदेश ३ का उप-सभामुख एवं नुवाकोटकी प्रदेश सांसद राधिका तामाङ यतिबेला ‘गाई काण्ड’ले चर्चामा छिन्। सामाजिक सञ्जालमा उनका समर्थक र विरोधी चर्को आलोचना र समर्थनमा उत्रिएका छन्। ‘गाईको मासु खान पाउने अधिकार ल्याउँछु’ भन्ने समाचार आएपछि उनीमाथि खनिने क्रम सुरु भएको हो। यसैको विरोधमा शनिबार नुवाकोटमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राँके जुलुससमेत निकाल्यो। आरोप खेपिरहेकी उपसभामुख तामाङले पहिलोपोस्टसँग आफूले बोल्दै नबोलेको कुरा सामाजिक सञ्जालमा फैलेको दाबी गरिन्।

बोल्दै नबोलेको कुरा कसरी फैलियो त?

बिहीवार नेपाल तामाङ घेदुङको टोलीले मकवानपुर हेटौडा पदमपोखरीका ३ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा गृहमन्त्री रामबहादुर थापालाई भेटेको थियो। गाईको मासु खाएको आरोपमा प्रहरीले मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई पक्राउ गरेको थियो। तीनै जनालाई व्याक्तिगत रिसइबीका कारण थुनेको भन्दै उनीहरुलाई छाड्दिन ज्ञापनपत्र बुझाएको थियो घेदुङले।

‘उनीहरु निर्दोष रहेको भन्दै घेदुङ टोली गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका रहेछन्। सोही समयमा नुवाकोटको डेलिगेसन टोलीसँगै म पनि पुल्चोक पुगेकी थिएँ,’ उप-सभामुख तामाङले भनिन् ।

त्यसको भोलिपल्ट अनलाइन र फेसबुकमा समाचार देखेर आफै छक्क परेको उप-सभामुख तामाङले बताइन्। ‘त्यो दिन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा घेदुङबाट महा-सचिवज्युले मात्र बोल्नुभएको हो। अरु कसैले बोलेकै छैन। बोल्दै नबोलेको कुरा आउँदा म त अचम्ममा परेँ,’ उनले भनिन्।

बोल्दै नबोली कसरी यो समाचार भाइरल बन्यो त? जवाफमा तामाङले भनिन्, ‘म प्रदेश ३ का उप-सभामुख हुँ। कता के बोल्नुपर्छ। पदीय मर्यादा के हो? यसबारे मलाई पनि थाहा छ। म बोल्नै परे पत्रकार सम्मेलन गरी बोल्थेँ। सबैमा आउथ्यो नि त्यो कुरा। यो खबर त नामै नसुनेको अनलाइनबाट भाइरल बनाइयो। विरोधीका लागि के निहुँ पाउँ जस्तो भइरहेको बेला भाइरल बन्न के ठूलो कुरा भयो र?’

मकवानपुरको घटना जोडेर नुवाकोटमा कांग्रेस कार्यकर्ता विरोधमा उत्रेकाले उनीविरुद्ध राजनीतिक प्रहार गरेको दावी गरिन्। ‘सुरुमा त समाचार कसले लेख्यो भन्ने नै थाहा थिएन। अहिले नुवाकोटका कांग्रेसी आन्दोलनमा उत्रेको देख्दा राजनीतिक प्रतिशोध गरेजस्तो लागेको छ। मकवानपुरकालाई न्याय दिन डेलिगेसन गएको घटना जोडेर नुवाकोटमा किन विरोध भयो?,’ उपसभामुख तामाङले प्रश्न गर्दै भनिन्, ‘चेली बेच्ने कांग्रेसी सुनबहादुर तामाङ पक्राउ गर्न म सक्रियरुपले लागेकी थिएँ। उनी कांग्रेसबाट वडाध्यक्षमा जितेका। पक्राउ नपर्दासम्म कांग्रेसका नेताहरुले सुनबहादुर निर्दोष भनेका थिए। अहिले जेल परे। यसैले मविरुद्ध प्रहार भयो।’

बोल्दै नबोलेको कुरा बाहिर आएकाले कानुनी प्रकियामा जाने तामाङले बताइन्। ‘मेरो मुखबाट नबोलेको कुरा आएकाले म दु:खी छु। अतिवादीहरु मेरा विरुद्ध लागेर सामाजिक सञ्जालमा मेरो फोटो जथाभावी सेयर गरिरहेका छन्। म अब कानुनी उपचार खोज्छु,’ उनले भनिन्।

तर, तामाङहरुले त यो विषयमा समर्थन गरिरहेका छन् नि? जवाफमा उनले भनिन्, ‘समर्थन गर्ने बाहुन पनि देखेँ। विरोध गर्ने तामाङ पनि देखेँ। तर, पनि म आफूले बोल्दै नबोलेको कुरा आएकोले दु:खी छु। कानुनी उपचारको लागि परामर्श थालिसकेकी छु।’

-पहिलो पोस्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*