प्रहरी संगठनलाई आत्मनिर्भर बनाइन्छ : कानुन मन्त्री जम्कट्टेल
हेटौंडा,१० चैत्र / प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी संगठनलाई आन्तनिर्भर बनाइने बताएका छन् । सामुदायीयक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको आयोजनामा शनिबार हेटौंडाको सान्नानीटारस्थित तपोबनमा भएको लागूऔषध एवं कानूनी प्रावधान सम्बन्धि अनुशिक्षण तथा बनभोज कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले त्यसको लागि प्रदेश सरकारले गृहकार्य गरिरहेको बताए ।
‘पर्याप्त स्रोत साधन नहुँदा पनि प्रहरीभित्र बिकृती बढेको मैले देखेँ’, उनले भने, ‘प्रहरीभित्रको बिकृती अन्त्य भएमात्र समाजमा हुने बिकृति अन्त्य हुन्छ ।’ प्रदेशमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम प्रहरी संगठभित्रबाटै गरिने उनको प्रतिबद्धता छ ।
प्रदेश ३ का केही जिल्ला लागूऔषध उत्पादनका कारण बदनाम बन्दै गएको भन्दै किसानहरुलाई बैकल्पिक खेतीतर्फ आकर्षित गरिनुपर्ने बताए । ‘बजार र उत्पादनमा सरकारले सहयोग गर्छ’, उनले भने, ‘अब जनताले गाँजा रोप्न छाडेर तरकारी रोप्न सुरु गर्नुछर्प ।’ भ्यालेन्टाइन दिवशको दिन मात्र अर्बो रुपैयाँको गुलाव छिमेकी देशबाट भित्रने गरेको भन्दै उनले परनिर्भरता रहेसम्म देशको समृद्धि नारामै सिमिति हुने बताए ।
साथै मन्त्री जम्कट्टेलले सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण प्रदेश सरकारको लक्ष्य भएको बताए । केन्द्र सरकार र दाताको भर पर्ने भन्दा पनि प्रदेश आफै आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको उनको भनाई छ ।
संस्थाका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रमा संस्थाका सल्लाहकार केशव गौतमले लागूऔषध उत्पादन र दुब्र्यसनी तथा कानूनी प्रावधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सान्नानीटारस्थित जंगलबीचमा रहेको तपोबन हेटौंडाको नयाँ धार्मिक तथा पर्यटकीय गन्तब्य हो ।
