अचम्मै भयाे, सेनाकै परीक्षामा नक्कली परीक्षार्थी ?
काठमाडाैं / अरू परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका समाचार खुबै अाउने गरेका थिए । अर्काकाे नाममा परीक्षा दिँदा दिँदै ती पक्राउ परेका समाचार पनि अाउने गरेकाे थियाे ।
तर, यसपटक अाश्चर्य नै भएकाे छ । नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन् ।
अाज विभिन्न परीक्षा केन्द्रबाट त्यस्ता ११ जना नक्कली परीक्षार्थी भेटिएका हुन् । उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । अरुलाई परीक्षा दिन पठाउने अर्का एकजना पनि समातिएका छन् ।
पक्राउ परेकामध्ये ८ जना महिला छन् । प्रहरीले सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षर्थीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
उनकाअनुसार आरआर कलेजबाट एकजना फर्जी परीक्षार्थी पनि समातिएका छन् । उनीहरु सबैले अर्काको नाममा परीक्षा दिँदै थिए ।
आफ्नो परीक्षा दिन अरुलाई पठाउने एक जना पनि पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको पोखरेलले बताए ।
यसअघि सुरक्षा निकायमा परीक्षामा यसरी नक्कली परीक्षार्थी भेटिने गरेका थिएनन् । शैक्षिक परीक्षाहरुमा अहिले नक्कली परीक्षार्थीको बिगबिगी हुने गरेको छ ।
अब यो ‘रोग’ रोजगारीका लागि लिइने सरकारीस्तरका परीक्षाहरुमा पनि सरेको छ । कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेका छन् ।
कतिपय भने आफन्त तथा साथीसंगी पनि यस्तो काममा संलग्न हुने गरेका छन् ।
