मालपोतको सिस्टम : जग्गा कारोबारीलाई मस्ती, सर्वसाधारणलाई सास्ती
मकवानपुर । मालपोत कार्यालय मकवानपुरमा सेवाग्राहीलाई च्यानल गेट बाहिरै राखेर झंझट दिने मालपोतका अधिकृतहरु जग्गा कारोबारीलाई भने हार्दिकतापूर्वक भित्रै राखेर भटाभट काम गरिरहेका भेटिन्छन् । जग्गाका कारोबार गर्नेहरुलाई सो कार्यालयका सूचना अधिकारीसमेत रहेका मालपोत अधिकृत सुवोध खनालले भित्रै आउनुहोस् न भन्दै सोफामा राखेर चिया मगाउँछन् । बाहिर लाइनमा घण्टौ बस्नेहरुको काम भने उनीहरुको प्राथमिकताभित्र पर्दैन ।
प्रमुख मालपोत अधिकृत मुक्तिनारायण भण्डारीको सेटिङमा खास मान्छेको रुपमा खनालले मालपोतभित्र र बाहिर व्यवस्थापन मिलाइरहेका छन् । स्रोतका अनुसार, मकवानपुरमा जग्गाको काम गर्ने व्यापारीहरुलाई फाँटै पिच्छे पहुँच दिने खनालले सर्वासाधारण सेवाग्राहीलाई भने अनावश्यक हैरानी दिने गरेका छन् ।
प्रचलित कानूनभित्रै रहेर गर्नुपर्ने काममा समेत आर्थिक लाभ लिएरै मात्रै गर्न खप्पिस खनाल सो कार्यालयमा आएपछि प्रमुख मालपोत अधिकृत पनि उनैको इशारामा काम गरिरहेका छन् । अन्य मालपोत अधिकृतले समेत खनालको आदेश मान्नु पर्ने अवस्था बनेको छ ।
नेपाल तरुण दलका नगर अध्यक्ष सुनिल गिरीका अनुसार, मालपोतमा जग्गा कारोबारीलाई भित्रै स्वागत गर्ने परिपाटीको उनले केही दिनअघि मालपोतमै गएर विरोध समेत गरेका छन् । हामीलाई भित्रै बोलाउन मन लागेकाले बोलाएका हौ भनेर गिरीलाई उनै खनालले जवाफ फर्काएका थिए । ठूलाठूला जग्गाका कारोबारी सो कार्यालयभित्र पुग्दा खनालले स्वागत गर्ने गरेका छन् भने सर्वसाधारण आफ्नो काम गराउन असमर्थ हुने गरेका छन् । जानीजानी पालोमा काम नगरिदिएर पछि सो बापत रकम लिएर काम गरिदिने गरेको मालपोत स्रोत बताउँछ । स्रोतका अनुसार, मालपोतभित्र सेवाग्राहीलाई जान नदिने भन्दै च्यानलगेट र ढोकासमेत लगाएर काम हुने गरेको छ । तर, सुबोध सरले भित्र बोलाएको भन्दै जग्गाका कारोबारी ढड्डा समेत हात हातमा बोकेर हिँडिरहेका भेटिन्छन् ।
प्रमुख मालपोत अधिकृत भण्डारीको आदेशमा सेटिङमा रहेकाहरुको काम प्राथमिकताका साथ हुने गरेको छ ।
