चैत्र २८ भित्रै चीन भ्रमण गर्ने प्रम ओलीको तयारी
काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र २८ गतेभित्रैमा चीन भ्रमण गर्ने तयारी सुरु गरेका छन् । भर्खरै मात्र मन्त्रिपरिषद विस्तार गरेका ओलीको दुई छिमेकी देश भारत र चीनको भ्रमण एकैसाथ अघि बढाइएको छ । एउटै मितिमा भारत र चीन भ्रमणको तयारी अघि बढेपछि परराष्ट्र मन्त्रालयमा तयारी गर्न निकै दौडधुप सुरु भएको एक अधिकारीले बताए । प्रधानमन्त्री ओली केही घण्टाको अन्तरालमा दिल्लीबाट काठमाडौं फर्केर बेईजिङ पुग्ने कार्यतालिका बन्दैछ ।
यही चैत्र २३ गते तीन दिने राजकीय भ्रमणको लागि भारत जाने तालिका तय गरेका प्रधानमन्त्री ओली चीनले भारतबाट फर्के लगत्तै चीन भ्रमणमा निस्कने तयारी समेत अघि बढाएका छन् । चीनको राजधानी बेईजिङको दक्षिणी टापु हेनान प्रान्तमा हुने बोआओ सम्मेलनमा भाग लिन चैत्र २८ गतेभित्रैमा बेईजिङ पुगिसक्ने स्रोतले जनायो । बोआओ सम्मेलन चैत्र २५ गते सुरु भई २८ गते सकिने हुँदा सोही मितिभित्र बेईजिङ पुगिसक्नुपर्ने दवावमा प्रधानमन्त्री ओली छन् । सोही कारण भारत भ्रमण पूर्वनिर्धारित कार्यतालिका भन्दा एक दिन अघि सारिएको हो सूत्रको भनाइ छ ।
प्रत्येक वर्ष हुँदै आएको बोआओ फोरम फर एसिया सम्मेलन यही चैत्र २५ देखि २८ गतेसम्म चीनको हेनान प्रान्तको एक टापुमा हुँदैछ । चिनियाँ राष्ट्रपति सि जिनपिङ समेत सहभागी हुने सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित हुने अनुमान गरिएको छ । यस पटकको बोआओ सम्मेलनमा चिनका राष्ट्रपति जिनपिङ, नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री मोदी, पाकिस्तानका प्रधानमन्त्री अब्बासी, लगायत एसियाली नेताहरुको उच्चस्तरीय भेटवार्ता हुने बताइएको छ ।
