‘हल्लाको भरमा हेटौँडाबाट राजधानी सर्दैन’–प्रचण्ड
हेटौंडा, ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दुई दिनको अन्तरालमा हेटौँडामा संचारकर्मीसँग बोल्दै तेस्रो पटक हेटौंडाबाट प्रदेशको राजधानी नसर्ने बताएका छन् ।
उनको दाबीले यतिखेर हेटौँडावासीमा खुशियाली समेत छाएको छ । उनले हल्लाको भरमा हेटौँडाबाट प्रदेश ३ को राजधानी नसर्ने बताएका छन् । बुधबार बिहान हेटौंडा ४ स्थित नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले भने, ‘हुन त यो प्रदेशसभाको अधिकारको कुरा हो, तर प्रचारबाजी गरेजस्तो अघिल्लो सरकारले गरिसकेको निर्णय उल्ट्याउन सजिलो छैन’,उनले भने,‘प्रदेशको नाम र राजधानी प्रदेश सभाले सहज ढंगले टुङ्ग्याउँछ भन्ने विश्वास छ ।’
अध्यक्ष दाहाल सिराहमा हुलाकी राजमार्गको कार्यक्रम सकाएर मंगलबार दिउँसो हेटौंडा आएका थिए । उनले गोरक्षश्वर मन्दिर निर्माण बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा समेत राजधानी नसर्ने दाबी गरेका थिए । त्यसको लगत्तै हेटौँडा अस्पतालमा भर्ना भएका पार्टीका पुराना कार्यकर्तालाई भेटेपछि पून राजधानी नसर्ने दोहोराएका थिए । उनी बुधबार पत्रकार सम्मेलन र कार्यकर्ता भेटघाट सकाएर काठमाण्डौं फर्केका छन् ।
