वाम पार्टी एकता बारे हेटौँडामा प्रचण्डको नयाँ खुलासा

तु खबर संवाददाता
२०७४ चैत्र ७, बुधबार १२:२१
फाइल फोटो

हेटौंडा,७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वाम पार्टी एकता बारे नयाँ खुलासा गरेका छन् । उनले संचारकर्मीहरुसँग कुराकानी गर्दै आउँदो बैशाख पहिलो साता नै वाम पार्टी एकता हुने संकेत दिएका हुन् ।

बुधबार बिहान हेटौंडा ४ स्थित नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले नेकपा एमालेसँगको एकता लेलिन जयन्ती अघि नै हुने बताएका छन् । लेलिन दिवसको अवसर पारेर २२ अप्रिलमा पार्टी एकता गर्ने सुझाव प्राप्त भएपनि त्यस अघि नै पार्टी एकता हुने उनले दाबी गरे ।

पार्टी एकता कार्यदलको प्रतिवेदन प्राप्त भएपछि औपचारिक टुङ्गो लगाएर छिट्टै नै पार्टी एकताको घोषणा हुने उनले उद्घोष गरे । लेलिन दिवस अघि नै पार्टी एकता गर्नका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीसँग आफ्नो समझदारी भएको उनले बताए ।

‘अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम बिधान र संगठनको ब्यवस्थापनको सुझाव दिन बनेको दुई कार्यदलले आफ्नो काम अन्तिम चरणमा पु¥याएको छ’ उनले भने, ‘दुई कार्यदलको सुझाव आएलगत्तै पार्टी एकता कार्यदलको बैठक बसेर एकताको मिति घोषणा गर्छौं ।’

सरकारसँग लगभग दुई तिहाई मत भएको भन्दै उनले मधेशवादी दल पनि सरकारमा आएपछि थप सहज हुने बताए । आफुहरुको ध्यान प्रदेश सरकारहरुलाई गतिशिल बनाउन ऐनहरु छिटो भन्दा छिटो बनाउनेतर्फ जानुपर्ने समेत उनले जिकीर गरे ।

अध्यक्ष दाहाल सिराहमा हुलाकी राजमार्गको कार्यक्रम सकाएर मंगलबार दिउँसो हेटौंडा आएका थिए । उनी बुधबार पत्रकार सम्मेलन र कार्यकर्ता भेटघाट सकाएर काठमाण्डौं फर्केका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*