टेम्पो हटेपछि अटो भाडा समायोजनको नाममा यात्रु नै ठगिए
-चन्द्र घलान
मकवानपुर, ६ चैत । सरकारले २० वर्ष पुराना सवारीहरुलाई यही चैत १ गतेदेखि हटाएपछि अहिले देशभरका जनताहरु मारमा परेका छन् । अझ यसको प्रभाव उपत्यका र ठूला सहरमाभन्दा पनि भर्खरै विकसित हुँदै गरेका बजार र ग्रामिण क्षेत्रमा बढी देखिएको छ । मकवानपुरको हेटौँडा बजार क्षेत्र र नजिकका ग्रामिण भेगमा संचालन हुने टेम्पो पनि सरकारको यो नियम लागु भएसँगै विस्थापित भएको छ । जसका कारण टेम्पोका स्थान लिन आईपुगेका अटो र विद्युतिय रिक्साहरुले यात्रुहरुलाई ठग्न थालेका छन् ।
हेटौँडामा टेम्पो विस्थापित भएसँगै अटोले मनपरि भाडा लिन थालेपछि सरोकारवालाहरुको बैठकले अटो तथा ई–रिक्साहरुको भाडादर कायम गर्यो तर त्यो भाडादरले यात्रु पहिलाभन्दा अझ बढी ठगिएका छन् ।
चैत ४ गते हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, प्रहरी उपरिक्षक (एसपी) विकासराज खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख नविन अधिकारी सहित विभिन्न यातायातसँग सम्बन्धित संस्था र सरोकारवालाहरुको सहभागीतामा बसेको बैठकले यस अघि नै लागु भएको पुरानो भाडा दरलाई कायम गर्ने निर्णय गरेको थियो । साथै बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म लाग्ने भाडादरमा २५ प्रतिशतसम्म थप गरेर लिन सक्ने व्यवस्था गरेको थियो । यसबाट हेटौँडा क्षेत्रमा केही संचालन भएका केही अटो धनीहरुले मनलाग्दी उठाउँदै आएको भाडामा कमि आउँछ र यात्रुहरु ठगिन बाट जोगिन्छन् भन्ने आसा गरिएको थियो । तर यो निर्णयले ठिक विपरित रुप लियो र यात्रुहरु धमाधम ठगिन थाले ।
हेटौँडाबाट पाथिभरा मन्दिरसम्मको भाडा यस अघि ५० रुपैयाँ पथ्र्यो तर अहिले यसलाई डबल बनाएर रु. १०० पुराइएको छ जसका कारण अटोमा यात्रा गर्नै नसकिएको रेडियो अनमोलमा कार्यरत संचारकर्मी प्रजोनी सुनारले बताईन् । यात्रुलाई सहज हुने नाममा झन मारमा पारिएको अनुभव भएको उनले सुनाईन् ।
त्यस्तै यसअघि हेटौँडाको पदमपोखरी र हात्तिगौँडासम्म धेरै जसो अटोहरुले पदमपोखरी चोकसम्म ५० र हात्तिगौँडासम्म रु. ७० भाडा लिने गरेका थिए । कतिपयले भने रु. १ सयदेखि १५० सम्म लिएर यात्रुलाई ठग्दै आएका थिए तर अहिले पदमपोखरी चोकसम्मकै भाडा ७० रुपैयाँ तोकिएपछि त्यहाँका स्थानीयहरु आक्रोशित बनेका छन् ।
हेटौँडाबाट विभिन्न स्थानमा चल्ने टेम्पो बन्द भएपछि अहिले यात्रुहरुले करिब तिनगुणा बढी भाडा तिर्नुपरेको छ । कमानेसम्म यात्रा गर्न पहिले टेम्पोले १५ रुपैयाँ लिन्थ्यो र विद्यार्थीलाई समेत छुट दिन्थ्यो तर अहिले अवस्था फेरिएको छ । अहिले दैनिक ५० रुपैयाँ अटो भाडा तिरेर ओहोरदोहोर गर्नु परेको स्थानीय सगुन घलानले बताईन् । ‘पहिले सजिलो थियो तर अहिले बजार आउन जानै नसकिने अवस्था भएको छ ।’ उनले सुनाईन् । यी यात्रुहरु जस्तै पिडामा परेका यात्रुहरुले सामाजिक संजालमा समेत चर्को विरोधका स्टाटसहरु लेख्न थालेका छन् ।
‘यात्रु ठग्नेलाई ठिक पार्छौँ’–सिडिओ
यस विषयमा कुराकानी गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भाडा दर परिमार्जन गर्नुपर्ने अवस्था आएको सुनाए । साथै मनलाग्दी भाडा लिनेलाई कारवाही गर्ने बताए ।
‘यात्रु ठग्ने अटो तथा इरिक्साको नम्बरसहित हामीलाई लिखित वा मौखिक जानकारी दिनुस् हामी ती अटोहरुलाई कारवाही गर्छौँ,’ उनले भने, ‘मनपरि भाडा लिनेलाई हामी छाड्दैनौँ ।’
भाडा समायोजनका विषयहरुमा उपमहानगरलाई नै अधिकार भएको भन्दै प्रजिअ बुढाले कारवाहीका लागि भने जिल्ला प्रशासन तथा ट्राफिक प्रहरीलाई समेत गुनासो सहित जानकारी दिन आग्रह गरे ।
‘हामी फेरि भाडा मिलाउँदैछौँ’–मेयर
यसैबिच यसअघि बसेको बैठकमा आफुहरुलाई केही गलत सूचनाहरु आएका कारण भाडा दरमा फरक पर्न गएको भन्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भाडा मिलाउनका लागि फेरि बैठक बस्न थालेको बताए ।
‘यस अघि केही नजिकैको पिच सडक भएको बाटोमा समेत महङ्गो भाडादर कायम भएका छन्, हामी सबै ठाउँमा प्रत्यक्ष पुग्न नसकेको र सरोकारवालासँग सल्लाह गर्दा उहाँहरुले दिनुभएको जानकारीका आधारमा निर्णय गरेकाले अलि भाडादर मिलेन, त्यसैले हामी फेरि बैठक बस्दैछौँ, मेयर महतले भने , ‘हामी कसरी हुन्छ यात्रुहरुलाई आवश्यकताभन्दा बढी भाडा तिर्न नपरोस् भन्ने पक्षमा छौँ ।’
मेयर महतले आज नै बैठक बस्न निर्देशन दिएको बताउँदै सम्भवत आज नै नयाँ भाडा दर कायम हुने बताए ।
