आजदेखि मकवानपुरमा ढुङ्गा–गिटी–बालुवा उत्खनन् नगरिने
मकवानपुर, ६ चैत । मकवानपुरका विभिन्न खोला तथा नदिहरुमा आजदेखि ढुङ्गा–गिटी–बालुवा उत्खननमा रोक लगाइएको छ । विकास निर्माण आयोजनाका नाममा हुँदै आईरहेको अवैध उत्खनन् आजदेखि १५ दिनका लागि रोकिने भएको हो ।
जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले मकवानपुरको राप्ति नदि, ज्यामिरे क्षेत्र, लोथर खोलामा भएको अवैध उत्खनन् अनुगमन गरेर प्रतिवेदन तयार नभए सम्मका लागि उत्खनन् रोक्ने निर्णय गरेको हो । बैठकले एक्साभेटरले उत्खनन् गर्दै आएको काम तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।
विकास निर्माण आयोजनाका नाममा मनहरी, मकवानपुर गढी र भीमफेदी गाउँपालिका, हेटौंडा उपमहानगरमा सञ्चालनमा रहेका क्रसर उद्योगले एक्साभेटर प्रयोग गरेर अत्यधिकरुपमा खोलादोहन गरेपछि अनुगमनपछिमात्र खोला उत्खनन् खोल्न सकिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समिति संयोजक चक्रबहादुर बुढाले बताए ।
आयोजनाका नाममा दुई वर्ष अघिदेखि नवीकरण नभएका क्रसर उद्योगको प्रांगणमा ढुंगा, गिट्टी र बालुवा थुपारिएपछि खोला उत्खनन् रोक्न चौतर्फी दबाब परेको थियो । अनुगमन र नियमन नगरेसम्मका लागि उत्खनन् रोकिएको जिल्ला समन्वय समिति समन्वय अधिकारी नारायणप्रसाद मैनालीले बताए ।
आजदेखि १५ दिन अनुगमन गर्न जिल्ला प्राविधिक कार्यालय मकवानपुर प्रमुख सोमराज तिमल्सिनाको संयोजकत्वमा पदेन सदस्य रहने गरी अनुगमन समिति गठन गरिएको छ । समिति सदस्यमा जिल्ला बन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, क्रसर भएका स्थानीय तहका प्रतिनिधि लगायतको समिति गठन गरिएको हो ।
