क्यान्सर अस्पताल भरतपुरका अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास

तु खबर संवाददाता
२०७४ चैत्र ३, शनिबार १९:२८

चितवन, ३ चैत (रासस) : भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।

अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुछ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो ।

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भन्नुभयो, “डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।” आफू भाग्न नसकेको भए आगो समेत लगाउने सापकोटाले बताउनुभयो ।

मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले भन्नुभयो– “तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्काेले यहीँ हो भन्यो र मलाई समाए ।” १९/२० वर्ष उमेरको एउटा र ३५/३६ वर्षको अर्काे एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उहाँले बताउनुभयो । सँगै अर्काे मोटरसाइकलमा दुईजना भए पनि ती कस्ता थिए आफूले अनुमान लगाउन नसकेको उहाँले बताउनुभयो ।

हल्लाखल्ला भएपछि आफू भागेको र स्थानीयवासी जुटेपछि उनीहरु पनि भागेको सापकोटाले बताउनुभयो । तत्काल सापकोटाले जिल्ला प्रहरी प्रमुख दीपक थापालाई फोन गरेपछि प्रहरी आएर अनुसन्धान थालेको पनि उहाँले बताउनुभयो ।

सापकोटा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काउराष्ट्र) का जिल्ला अध्यक्ष र नेपाल बार एशोसिएसन चितवनका साधारण सदस्य पनि हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*