कृषिमा सरकारको प्रोत्सहान योजना बाटैबाट गायब
मकवानपुर, २ चैत । सरकारले कृषि क्षेत्रमा लागेका किसान तथा युवापुस्तालाई प्रोत्साहन गर्ने भनिएता पनि त्यस्ता प्रोत्सहानका योजनाहरु युवा कृषि व्यवसायीसम्म नपुगेको हेटौँडाका युवा व्यवसायीहरुले गुनासो गरेका छन् ।
प्रदेश नम्बर एकका युवा उद्यमी तथा व्यवसायीहरुले मकवानपुरका उद्यमी तथा ब्यवसायीहरुसँग अनुभव साटासाट गर्ने क्रममा यस्तो गुनासो आएको हो । ब्रोईलर कुखुराको अण्डा उत्पादन गर्ने मकवानपुरको पहिलो ह्याचरी हेटौंडा पोल्ट्री एण्ड ह्याचरी उद्योगका सञ्चालक सुनिल अधिकारीले सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गरेको बताएपनि आफुहरुले कुनै सहुलियत नपाएको गुनासो गरे ।

भ्रमणका तस्बिरहरु– कृष्ण सारु मगर
राष्ट्रिय युवा परिषदको युवा उद्यम अनुभव आदनप्रदान कार्यक्रम अन्तर्गत भ्रमणमा आएका टोलीले हेटौंडा ५ स्थित श्रमजिवी महिला काष्ठ हस्तकला उद्योग र हेटौंडा १८ स्थित हेटौंडा पोल्ट्री एण्ड ह्याचरी प्रा.लि.को अवलोकन गरेका थिए । मकवानपुरमै महिलाहरुले काष्ठ हस्तकला सामग्री उत्पादन गर्ने पहिलो उद्योगका रुपमा परिचित श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका उत्पादनले बजार नपाएको उद्यमी महिलाहरुले गुनासो समेत गरेका छन् । आफुहरु लगनका साथ लागे पनि उत्पादनले बजार नपाउँदा निराशा छाएको उनीहरुले सुनाए ।
प्रदेश एकको ताप्लेजुङ, पाँचथर, तेह्रथुम र सुनसरीका युवा उद्यमीहरुले मकवानपुरका युवा उद्यमीहरुले सञ्चालन गरेका उद्यम तथा पर्यटकीय क्षेत्रको भ्रमण गरेका हुन् । भ्रमण टोलीले हेटौंडा १८ स्थित पर्यटकीय स्थल गुम्बा डाँडाको पनि भ्रमण गरेका थिए ।

भ्रमणका तस्बिरहरु– कृष्ण सारु मगर
जिल्ला युवा समिति मकवानपुरको संयोजनमा भ्रमण टोलीलाई युवा उद्यमीहरुसँग अन्तरक्रिया तथा अवलोकन भ्रमणको ब्यवस्था मिलाइएको हो । राष्ट्रिय युवा परिषदका उप सचिव ध्रुवराज पोख्रेलको नेतृत्वमा दुई दर्जन युवाहरु अनुभव साटासाट गर्न हेटौंडा आएका हुन् ।
भ्रमणले फरक फरक क्षेत्रमा बसेर उद्यम गरिरहेका युवाहरुबीच अनुभव आदनप्रदान गर्ने अवसर मिलेको जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईले बताए ।

भ्रमणका तस्बिरहरु– कृष्ण सारु मगर
