ज्योति मगर र सरस्वती लामाले भोलि हेटौँडा हल्लाउने
मकवानपुर, २ चैत । मोडल तथा गायिकाका रुपमा चर्चा कमाएका ज्योति मगर र रक गायिका सरस्वती लामाले भोलि हेटौँडामा धमाका मच्चाउने भएका छन् । मकवानपुरमा बिगत एक वर्षदेखि संचालनमा रहेको अनलाईन रेडियो , रेडियो भरोसाले आफ्नो प्रथम वार्षिक उत्सवका अवसरमा भोलि चैत ३ गते आयोजना गर्न थालेको सांस्कृतिक कार्यक्रममा उनीहरुले प्रस्तुति दिन थालेका हुन् ।
रेडियोका संचालक शसान्त तामाङका अनुसार रेडियोलाई थप परिचित गराउन र स्थानीय कला तथा संस्कृतिको जर्गेना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । तामाङले कार्यक्रमको सबै तयारी पुरा भइसकेको बताएका छन् ।
हेटौंडाको भुटनदेवी स्कुलको चौरमा कन्सर्ट हुन थालेको हो । कार्यक्रममा सहभागी हुनका लागि निश्चित रकमको टिकटको पनि व्यवस्था गरिएको छ । विद्यार्थीहरुका लागि टिकटमा छुट पनि गरिएको उनले बताए ।
कन्सर्टमा ज्योति र सरस्वतस्सँगै गायिका टिका प्रसाईँ, गायकहरु बिनय केटु, सुनिल मगर, राजेश राई, सुरज गुरुङका साथै प्रलय चौलागाई, रविकुमार चेपाङ, सुन्दर लामा, राजु घलान, सुरज ब्लोन लगायतका कलाकार तथा गायकहरुको प्रस्तुति रहनुका साथै सृजना कला केन्द्र र म्यूजिक एकेडेमीका कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।
कन्सर्टमा सहभागी दर्शकहरुलाई गोलाप्रथाद्वारा बिजेता घोषणा गरि प्रथम हुनेलाई ३२ ईन्चको एलईडी टिभी १ थान, दोस्रो हुनेलाई रेफ्रिजेरेटर १ थान, तेस्रो हुनेलाई मोबाईल सेट १ थान, चौथो हुनेलाई टेबल फ्यान १ थान र पाँचौँ हुनेलाई भित्तेघडी १ थानको समेत व्यवस्था गरिएको छ ।
थ्री स्टार मिडिया प्रालिद्वारा संचालित रेडियो भरोसाले विभिन्न रेडियो कार्यक्रमका साथै समाचारमुलक अनलाईन पोर्टल समेत संचालन गरिरहेको छ । साथै रेडियो भरोसा फ्रिक्वेन्सीमै जाने तयारी पनि भइरहेको बताइएको छ ।
