उपभोक्ता अधिकारवादीहरु भाषणमै मस्त, म्याद सकिएका खाद्यान्न मकवानपुरका गाउँ–गाउँमा
मकवानपुर, २ चैत । मकवानपुरको हेटौँडा बजार तथा अन्य स्थानमा रहेका केही होलसेल पसलहरुले म्याद गुज्रिएका सामानहरु ग्रामिण क्षेत्रमा बेच्ने गरेको खुलासा भएको छ । हरेक वर्ष १५ मार्चमा मनाइने विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बिहीबार हेटौडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुराको खुलाशा भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा आयोजित कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका नवराज अधिकारीले बजारमा रहेका केही होलसेल पसलले मिति सकेको खाद्यान्न गाउँ–गाउँमा पठाउने गरेको भन्दै त्यसलाई रोक्न सबैलाई आग्रह गरे । उनले आफुहरु मिति सकेको खाद्यान्न विक्रीवितरण गर्न रोक्न अग्रसर भएको दाबी समेत गरे । उनले यसरी म्याद सकिएका खाद्यान्न विक्री वितरण रोक्ने भनिरहँदा पनि बजारको खासै अनुगमन भने हुन सकेको छैन । सदा झैँ मञ्चले भाषण मात्र गर्छ या साँच्चै बोलेका कुराहरुलाई कार्यान्वयनमा जोड दिएर अगाडि बढ्छ भन्ने कुरामा चाहिँ सर्वसाधारणले आशंका पोखेका छन् ।
उपभोक्तावादीहरु मञ्चमा भाषण मात्र दिइरहँदा आफुले गर्नुपर्ने काम र निभाउनुपर्ने दायित्व कति निभाए भन्ने तर्फ चाहिँ पटक्कै ध्यान नगएको देखिएको छ । मकवानपुरका साथै नेपालका अधिकांश सहरमा हुने गरेका फितलो अनुगमन वा अनुगमन नै नगर्ने परिपार्टी हाबी भएपछि अहिले दिनदहाडै सर्वसाधारणहरु ठगीमा परेका छन् । साथै उनीहरुमाथि व्यापारीहरुले एकछत्र पेलान गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बन्द अवस्थामा रहेको खाद्य प्रयोगशाला संचालन गर्न पहल गर्ने बताएका छन् । उनले स्थानीय सरकारले पाएको उपभोक्ता अधिकार भित्र रहेका अधिकारहरुलाई लागु गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा सहभागिहरुले मानिसको खाद्य, स्वास्थ्य, सुरक्षा र सञ्चारको अधिकारको विषयमा आवाज उठाएका थिए । कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत दीनेश त्रिपाठीले नेपालको संवैधानिक, कानुनी व्यवस्था अनुसार उपभोक्ताको हक अधिकार सम्वन्धी जानकारी गराएका थिए । उनले १५ मार्चलाई विश्व उपभोक्ता अधिकार दिवस मनाउदैं आएको र उपभोक्ताका ८ विश्वव्यापी अधिकारबारे बताएका थिए । ८ अधिकारहरु आधारभूत आवश्वयकताको सन्तुष्टि प्राप्त गर्ने अधिकार , सुरक्षाको अधिकार, सुचना प्राप्त गर्ने अधिकार, छनौटको अधिकार, आवाज सुनाउन पाउने अधिकार, क्षतिपूर्तिको अधिकार, उपभोक्ता शिक्षाको अधिकार, स्वास्थ्य वातावरणको अधिकार रहेका छन् ।
यी आधारभूत अधिकारहरुबाट समेत उपभोक्ताहरु बञ्चित भएको जगजाहेर छ । छनौटको अधिकारहरु पनि व्यापारीको सिण्डीकेटले टुस पल्टिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश ३ को उद्योग वन पर्यटन, तथा वातावरण मन्त्रालयका निमित्त सचिव गोपाल गौतम, उद्योग वाणिज्य संघका विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई लगायतले मन्तव्य राखेका थिए । हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
