११ वटा बालगृहका २१ व्यवस्थापकलाई अभिमुखीकरण

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार ०७:२५

मकवानपुर, २ चैत । बालगृह सञ्चालन तथा व्यवस्थापन न्युनतम मापदण्डका विषयमा मकवानपुरमा सञ्चालनमा ११ वटा बालगृहका व्यवस्थापक तथा कर्मचारीहरुलाई अभिमुखीकरण गरिएको छ । जिल्लामा संचालनमा रहेका बालगृहका २१ जनालाई अभिमुखीकरण प्रदान गरिएको हो ।

बाल कल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोगमा बालगृह सञ्जाल (सिनेट) मकवानपुरको समन्वयमा अभिमुखीकरण सञ्चालन गरिएको हो । मकवानपुरमा सञ्चालनमा रहेका बालगृहलाई राज्यले तोकेका नीति नियममा रही व्यवस्थित रुपमा सञ्चालन गर्नका बालगृहका व्यवस्थापक तथा कर्मचारीका लागि अभिमुखीकरण प्रदान गरिएको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए ।

अभिमुखीकरणमा मकवानपुरको अनाथ अपाङ्ग तथा पुनस्थापना केन्द्र, अन्तरदृष्टि नेपाल, शान्त घर, मामाघर नेपाल, आशा नेपाल, नारी संरक्षण केन्द्र, हाम्रो घर, ज्योतिको घर नेपाल, आशीषमय बालगृह नेपाल, एस्थर बेञ्जामिन मेमोरियल फाउन्डेशन, समाज विकास बाल गृहका व्यवस्थापक तथा कर्मचारी सहभागी थिए ।

अभिमुखीकरणमा सहभागी बालगृहका अभियन्ताले आफूहरुले सञ्चालन गरिरहेको बालगृह बालबालिकाको भविष्यका लागि प्रभावकारी बनिरहेको पाइएको बारे समीक्षा गरिएको थियो । ‘हाम्रो घर’ बालगृहका सञ्चालिका इन्दिरा न्यौपानेले आफूहरुले संरक्षणमा राखेका बालबालिकाका लागि आवश्यक शिक्षा, दिक्षा तथा जीवनोपयोगी शिप प्रदान गरिरहेको बताइन् । ‘हाल हाम्रो बालगृहमा २१ जना बालक र ११ जना बालिका छन् । यी हाम्रा भविष्य भएकाले उनीहरुको जीवन सुखमय बनाउँने विषयमा हामी चिन्तित छौं ।’ न्यौपानेले भनिन्,‘एसईई पछि शिप सिक्न इच्छा भएका र साँच्चै केही गर्छु भन्नेका लागि हामीले शिपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउँन सहयोग गरिरहेका छौं ।’

बालगृह सञ्जाल (सिनेट) मकवानपुरका अध्यक्ष झविन्द्र ज्ञवालीका अनुसार मकवानपुरका केही बाल गृहमा जन्म दर्ता, आर्थिक लगायत समस्या छन् । जिल्लामा रहेका १३ वटा बालगृहको अवस्था सन्तोषजनक रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*