ब्लड क्यान्सर पिडीतलाई मकवानपुर कोरिया मञ्चद्वारा १ लाख ३६ हजार सहयोग
-चन्द्र घलान
मकवानपुर, २८ फागुन । कोरियामा कार्यरत मकवानपुरका युवाहरुको संस्था मकवानपुर कोरिया मञ्चले हेटौँडाका एक ब्लड क्यान्सर पिडीतलाई १ लाख ३६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

पिडीत निरज श्रेष्ठ
ब्लड क्यान्सरसँग जुधिरहेका हेटौँडा–५ सानोपोखरा निवासी निरज श्रेष्ठको उपचारका लागि रकम सहयोग गरिएको मकवानपुर कोरिया मञ्चका अध्यक्ष सुरेश भोलनले जानकारी दिए । कोरियामा कार्यरत राजेश श्रेष्ठको विशेष सक्रियतामा संकलित रकम मञ्चका अध्यक्ष भोलनसहित पूर्व अध्यक्षहरु शम्भु पुडासैनी, दुर्गा प्रसाद दाहाल र संस्थापक सचिव हिरा स्याङ्तानले बिरामीका बुवा दामोदर श्रेष्ठलाई हेटौँडामा हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष भोलनले मानविय पूण्यका कार्यमा सहयोग गर्ने सबै सहयोगी हातहरुलाई धन्यवाद दिँदै मानवीय सेवामा मञ्च सधैँ अग्रणी भूमिका खेल्न तयार रहेको बताए । साथै ब्लड क्यान्सर पिडीत श्रेष्ठका बुवाले मञ्चको सहयोगका लागि धन्यवाद दिए ।
पिडीत श्रेष्ठ अहिले राजिव गान्धी क्यान्सर रिसर्च सेन्टरमा उपचार गराइरहेका छन् । उनको उपचारको लागि करिब २५ लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ ।
