बालिका बलात्कारको आरोपमा मकवापनुरका १ जना पक्राउ, सामुहिक बलात्कारको आरोपमा ५ जना पक्राउ
मकवानपुर, २८ फागुन । ८ वर्षीय बालिकालाई ललाई फकाई बलात्कार गरेको अभियोगमा मकवानपुरका एक जना मानिसलाई काठमाडौँमा पक्राउ गरिएको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–२ का ३५ वर्षीय राजकुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
काठमाडौं तार्केश्वर नगरपालिका–८ शान्ति टोल बस्ने महोत्तरीकी ८ वर्षीया बालिकालाई ललाई फकाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा अस्थायी रुपमा बसोबास गरिरहेका लामालाई पक्राउ गरिएको हो ।
त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहा बस्ने २० वर्षीय अजय चौधरी र २० वर्षीय एकलाटी चौधरीलाई जबरजस्ती करणीको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।
अजय, एकलाटी लगायत ५ जनाले सोही ठाउँ बस्ने १८ वर्षीया महिलालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको खुल्न आएको छ । जबरजस्ती करणी गर्ने अन्य ३ जना फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
