जनप्रतिनिधि आएपछि बाग्मती गाउँपालिकामा विकासको लहर

तु खबर संवाददाता
२०७४ फाल्गुन २७, आईतवार १८:५४

मकवापनुर, २७ फागुन । स्थानीय तहको निर्वाचन लगत्तै गाउँको शासन सत्ता स्थानीय जनप्रतिनिधिकै हातमा आएपछि अहिले मकवापनुरका विभिन्न स्थानहरुमा विकासको मुल फुटेको छ । जनताको ईच्छा अनुसार कार्य नगरेमा अर्को पटक जनताले ठिक पार्ने अवस्था देखेकै भएर पनि कतिपय जनप्रतिनिधिहरु खुरुखुरु काम गरिरहेका छन् भने कतिपय योजनाका साथ स्वस्फुर्त रुपमा गाउँको विकासमा तल्लिन भएका छन् ।

भौतिक पूर्वाधार विकासका दृष्टिकोणले पछि पारिएको मकवानपुरको बाग्मती गाउँपालिकामा अहिले विकासको लहर सुरु भएको छ । गाउँपालिका अध्यक्ष सर्केश घलान सहित वडा अध्यक्ष र सदस्यहरु गाउँको विकासमा कम्मर कसेर लागेका छन् । एकप्रकारले भन्नुपर्दा स्थानिय तहलाई अधिकार सम्पन्न गरेलगतै गाँउले बिकासमा फड्को मार्न थालेको छ । दुरदराजका गाउँमा बिस्तारै बिकासका पूर्वाधारले स्थान पाउन थालेका छन् । मकवानपुरको पूर्वि क्षेत्र बागमती गाउँपालिकाकाको वडा नम्बर १ गुर्दुमदेखी ३ नम्बर वडाको गढन जोड्ने बाटो निर्माण तिब्र गतिमा चलिरहेको छ । वडालाई गाउँपालिका तथा सदरमुकामसम्म जोड्ने काम भैरहेको हो । सडक अभाबमा सदरमुकाम हेटौंडा आउन त्यस क्षेत्रका जनता २ घण्टाको पैदल यात्रा गरि मुख्य सडक आउनुपर्ने बाध्यता थियो । अब उक्त बाध्यता हट्ने स्थानियको आशा छ ।

बागमती गाउँपालिकाको ४५ लाख बिनियोजित बजेटबाट अहिले ६ किलोमिटरको सडक निर्माण कार्य चलिरहेको हो । हालसम्म सांढे ३ किलोमिटर सडक निमार्ण सम्पन्न भैसकेको गुर्दुम गढन देउजर सडक उपभोक्ता समितीका अध्यक्ष कर्साङ सिं पाख्रिनले बताए । उक्त सडक निमार्णको अनुगमन गर्न पुगेका तीन नम्बर वडा अध्यक्ष बलबहादुर पाख्रिनले सडक निमार्ण सम्पन्न भएसंगै यसैवर्षबाट यात्रुबस सञ्चालन गरिने जानकारी दिए ।

यस्तै अनुगमनमा पुगेका नेकपा माओवादी केन्द्र मकवानपुरका सञ्चार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले बाटो निमार्ण भएपछि ३ नम्बर वडाका जनताको आर्थिक, सामाजिक र शैक्षिक बिकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । गत माघ २ गतेदेखि सडक निमार्ण थालनी गरेको समितीले यसै आर्थिक वर्षभित्र निमार्ण सम्पन्न गरिने समितीले जनाएको छ ।

यता, बागमती गाउँपालिकाकै वडा नम्बर ३ र ४ जोड्ने सडक र वडा नम्बर ४ को घट्टेदमार जोड्ने सडक निमार्णको काम सम्पन्न भैसकेको वडा अध्यक्ष पाख्रिनले बताए । दुबै सडक निमार्ण कार्य सम्पन्न गर्न दश र तीन लाख रुपैया बजेट बिनियोजन भएको थियो । वडा नम्बर ३ कै गढनमा खेल मैदान,सोही वडाकै सल्लेनी, गढनशिर र देउजरमा खानेपानी आयोजनाको निमार्ण कार्य पनि जारी छ । खेल मैदान निमार्णका लागि तीन लाख, खानेपानीको लागि क्रमशःपन्ध्र, तीन र पाँच लाख बजेट बिनियोजन गरिएको छ ।

यता बागमती गाउँपालिका वडा नम्बर ३ गढनस्थित तिनतले बुद्ध मन्दिर र चिरुवा माझी टोल चर्च र तिनभंगाले चर्च निमार्णको प्रक्रिया चलिरहेको छ । यसैगरि वडा नम्बर ३ कै ज्ञानमन्दिर निमाबिको बिनियोजित तीन लाख रुपैयाँ बजेटमा सोलार र कम्युटर जडान कार्य सम्पन्न भएको वडा अध्यक्ष बलबहादुर पाख्रिनले जानकारी दिए ।विकासको कार्यले अझै बढी गति लिनेमा गाउँपालिका अध्यक्ष घलान समेत ढुक्क छन् तर कतिपय स्थानमा अधिकार दिए जस्तो गरेर केन्द्रले कर्मचारीलाई नै बढुवा दिएको आरोप उनले लगाएका छन् । सकेसम्म जनप्रतिनिधिलाई सहज तरिकाले काम गर्न नदिने नियतले जानाजान गल्ति गरि संविधान निर्माण गरिएको पनि उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*