३ नम्बर प्रदेशको नाम र राजधानीबारे जथाभावी नबोलौँ–उपसभामुख तामाङ
मकवानपुर, २७ फागुन । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले प्रदेशको राजधानी र नामबारे कसैले पनि जथाभावी बोल्न नमिल्ने बताएकी छिन् । उनले प्रदेशको नाम र राजधानीका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए । ‘ अहिले यतिखेर तपाईको सामु उभिँदा म आफै दुविधामा छु, तर ३ नम्बर प्रदेशको नाम र प्रदेश राजधानीका बारेमा जिम्मेवार भएर लाग्नुपर्छ ।’ उनले भनिन्, ‘जे लाग्यो त्यही गर्नुहुँदैन ।’
नेता, मन्त्री र प्रदेश सभाषदले जथाभावी बोल्न नहुने बताउँदै उनले धेरैले चासो देखाएपनि राजधानी र नामाङ्कनबारे हतारमा बोल्दा गम्भीर परिणाम आउने भएकाले जिम्मेवार हुन आग्रह गरिन् । तामाङ सञ्चार समुह मकवानपुरको दोश्रो जिल्ला अधिबेशनको शनिबार हेटौंडामा उदघाटन गरेपछि उनले दीर्घकालिन असर पार्ने भएकाले सचेत हुन नेता, मन्त्रीलाई ध्यानाकर्षण गराईन् । ‘३ नम्बर प्रदेशको स्थायी राजधानी र नामबारे धेरैको कौतुहलता छ, पत्रकारहरुले पनि शुरुमै त्यही प्रश्न गर्छन्’ उनले भनिन् ‘राजनीतिक पार्टी, प्रतिनिधिहरुलाई जिम्मेवार तरिकाबाट यो बिषयमा अगाडी बढ्न आग्रह गर्न चाहन्छु ।’
कार्यपालिकामा प्रतिनिधित्वमा गर्नेहरु जनताको प्रतिनिधी भएकाले कुनै जिल्ला, एउटा समुदाय, एउटा बर्ग, एउटा लिङ्गलाई मात्र समेटेर अभिव्यक्ति दिदाँ त्यसले राम्रो नगर्ने उनको भनाई छ । मन्त्री र पार्टीका नेताहरुलाई कटाक्ष गर्दै भनिन् ‘नेतृत्वले कुखुरा बनेर खोर्सिने होईन, नेतृत्वले चिल बनेर सबैलाई हेर्न सक्नुपर्दछ, त्यही सक्षम नेतृत्व हो ।’ प्रदेश राजधानी र नामबारे बिवाद निकाल्नु भन्दा पनि सबैका लागि उपयुक्त स्थान र नाम चयन गरेर समाधान निकाल्न नेतृत्वलाई आग्रह गरिन् ।
अस्थायी वा स्थायी छिटो टुङ्ग्याएर जान सके फाईदा हुने बताउँदै प्रदेश राजधानीकै बिवादले कर्मचारी समेत आउन नमानेको दाबी गरिन् । अन्य प्रदेशमा व्यबस्थित रुपले भौतिक पूर्वाधार निर्माण भईसकेको बताउँदै उनले जनतामा समेत भ्रम सृजना हुनु दुःखद पक्ष भएको बताईन् ।
काजमा आएका कर्मचारीलाई समेत संघीय साँसद सचिवालयबाट खोजेर ल्याई बैठक बस्नु परेको गुनासो गर्दै उनले प्रदेश सभाको काम(बिजनेश) तयारी अवस्थामा रहेपनि जनशक्ति अभावले निरन्तरता दिन नसकेको बताईन् ।
प्रदेश राजधानीबारे चाँडै निर्णय हुन सके प्रदेश सभाले मजबुद ढंगले कार्य सम्पादन गर्न सक्ने भएपनि यसबारेमा छलफल समेत नभएको उनले खुलासा गरिन् । राजधानीबारे थुप्रै खाले आशंकाहरु पैदा भएको र मिडियाबाजी भएको भन्दै श्रोत र तथ्य बिना समाचार सम्प्रेषण नगरि गम्भीर हुन पत्रकारहरुलाई अनुरोध पनि गरिन् । पत्रकारिता क्षेत्र राज्यको चौथो अंग रहेको भन्दै उनले समृद्ध देश बनाउने केन्द्र र प्रदेश सरकारको अभियानमा पत्रकारहरुले पनि निष्पक्ष रुपमा सहयोग गर्नुपर्नेमा जोड दिईन् । ३ नम्बर प्रदेशको २२ वटा कानुन धमाधम निर्माण भईरहेको भन्दै उनले राष्ट्रपती निर्वाचन लगत्तै प्रदेश सभाको बैठक बस्ने बताईन् ।

तामाङ सञ्चार समूह मकवानपुरको दोस्रो जिल्ला अधिवेशनबाट चन्द्र घलानको अध्यक्षतामा चयन भएको ११ सदस्सीय नयाँ कार्य समिति
कार्यक्रममा प्रदेशसभाकी सभाषदहरु कुमारी मोक्तान, ओम घलान, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेपाल तामाङ घेदुङ्गका जिल्ला अध्यक्ष लिलाकुमार घलान, तामाङ सञ्चार समूहका केन्द्रिय महासचिव विष्णु मोक्तान लगायतले देशमा नयाँ राज्य व्यबस्था संघीयता र गणतन्त्रलाई प्रभावकारी कार्यान्वयन गराउँदै समृद्धी र बिकासका लागि पत्रकारको भुमिका र दायित्व थपिएको बताएका थिए । अधिवेशनले चन्द्र घलानको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जनक तामाङ, सचिवमा दीलबहादुर रुम्बा, कोषाध्यक्षमा सुनु थिङ, सहसचिवमा राममायाँ तामाङ्ग लगायत रहेका छन् । कार्यक्रममा उपसभामुख तामाङसहित मकवानपुरका प्रदेश सभा, नगरपालिका र गाउँपालिकामा निर्वाचित तामाङ जनप्रतिनिधीलाई समूहले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो ।
