बाराको कोल्हवीमा आजदेखि ३ दिने माछा महोत्सव शुरु
अनिल प्रित
कोल्हवी,बारा, २५ फागुन । माछा व्यवसायी संघ बाराको आयोजनामा आजदेखि ३ दिने माछा महोत्सव बाराको कोल्हवीमा शुरु भएको छ ।
महोत्सवको आज एक कार्यक्रमकाबिच कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दे भण्डारीले कोल्हवीलाई समृद्ध नगरपालिका बनाउने प्रतिवद्धता समेत जनाउनुभयो । ‘यहाँ गर्नुपर्ने धेरै कुराहरु छन , कृषिको हिसावले पनि गर्नुपर्ने धेरै छ, यी सबैलाई समेटेर कोल्हवीलाई समृद्ध बनाउनेतिर मेरो ध्यान जानेछ’ उहाँले भन्नुभयो, ‘हामी यस्ता किशिमका महोत्सवमा सधैभरी साथ, सहयोग र समर्थन गर्न तयार छौ ।’
मन्तब्यको क्रममा करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामीले यस्ता महोत्सवले बाराको पहिचान थप स्थापित हुने बताउनुभयो । बारालाई राष्ट्रिय स्तरसम्म चिनाउन माछा व्यवसायी संघले खेलेको भुमिकाको प्रशंसा गर्दे उहाले महोत्सवलाई आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
त्यस्तै , माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहले सबैको साथ र सहयोगले कोल्हवीमा आफुहरु महोत्सव गर्न सफल भएकोभन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा माछा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अम्बिका अधिकारी, केन्द्रिय बरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारी, माछा व्यवसायी महासंघ बाराका सचिव रबिन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमकाबिच संघले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले सुर्य कमल प्रा.लि बल्खु कृषि तरकारी बजारका निर्देशक रामकृष्ण कुवर र श्रेष्ठ एग्रिपुटका सञ्चालक गोविन्द श्रेष्ठलाई सम्मान गरेको हो । ३ दिनसम्म चल्ने महोत्सवमा माछाका बिभिन्न स्टलहरु राखिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् ।
