भैरवी मन्दिरका पुजारीको पोशाकनै परिवर्तन गरीयो
त्रिशूली २४ फागुन । जिल्लाको प्रमुख धार्मिकस्थल भैरवी मन्दिरका पुजारीधामीको पोशाक आज विधिपूर्वक परिवर्तन गरिएको छ ।
परम्परागत रुपमा धार्मिक कार्यमा पहिरिने विशेष खालको पोशाक हरेक १२ वर्षमा परिवर्तन गरिने प्रचलन छ । नुवाकोटे धामी खलकका बाह्रौँ पुस्ता अठहत्तर वर्षीय हरिमानसिंह डंगोलको यस पटकसँगै १२ वर्षे पोशाक छैटौंँ पटक परिवर्तन गरिएको हो । धामीले लगाउँदै आएको पोशाक राष्ट्र प्रमुखका हातबाट परिवर्तन गर्ने परम्परानुसार गत माघ १३ गते धामीसहितको टोली काठमाडौ पुगेर राष्ट्रपतिको अनुमतिमा निवृत्तिभरण व्यवस्था कार्यालयमार्फत नयाँ पोशाक ल्याएको धामीका छोरा राजेन्द्र डंगोलले वताउनुभयो ।
विदुर नगरपालिका–२ स्थित भैरवी मन्दिरमा आयोजित कार्यक्रममा गुभाजुद्वय रत्नराज बज्राचार्य र मुसुनरत्न बज्राचार्यले विधिपूर्वक तन्त्रमन्त्र गरेर धामीलाई पोशाक लगाइदिनुभएको हो ।
प्रत्येक वर्ष नुवाकोटको महत्वपूर्ण सिन्दूरे जात्रा र जालपादेवी मेलामा धामीले प्रयोग गर्ने पोशाक, गहनालगायत पहिरन प्रत्येक १२ वर्षमा परिवर्तन गर्नुपर्ने चलन छ ।
नुवाकोटका धामीले यसअघि पहिलो पटक २०१९ तथा त्यसपछि २०३१, २०४१, २०५२ र २०६३ सालमा राष्ट्र प्रमुखबाट पोशाक परिवर्तन गर्नुभएको थियो । राष्ट्र प्रमुखको अनुमतिविना धामीले त्रिशूली, तादी, लिखु र सामरी नदी पार गर्न नपाउने प्रचलन भए पनि पोशाक परिवर्तनका लागि भने राष्ट्रप्रमुखको अनुमतिबाट धामी नदी तरेर राजधानी जाने गर्छन् । मल्लकालीन राजाका पालाभन्दा अघिदेखि यस्तो परम्परा रहिआएको बताइन्छ ।
रासस
