मेयर कपमा वडा नम्बर १० क्वाटर फाईनलमा प्रवेश, हुप्रलाई हराउँदै वनस्खण्डी अघिल्लो चरणमा
मकवानपुर, २३ फागुन । मकवानपुरको हेटौँडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा १० नम्बर वडाको भूटनदेवी फुटबल टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा ३ नम्बर वडाको बसा महादेव टिमलाई ३–० गोल अन्तरले हराउँदै भुटनदेवी क्वार्टरफाइनल प्रवेश गरेको हो ।
भूटनदेवीको लागि २२ औं मिनेटमा सुशान्त लामाको पासमा आकर्षक गोल गर्दै सुमन छुमीले अग्रता दिलाएका हुन् । भूटनदेवीकै लागि ५३ र ५६ औं मिनेटमा वीके लामाले गोल गर्दै ३–० ले विजयी बनाए । वडा नम्बर ३ बसा महादेवले पनि गोल गर्ने केही मौका पाएको भएपनि गोल भने हुन सकेन । खेलको म्यान अफ दी म्याच भएका भूटनदेवी टिमका वीके लामाले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
यस्तै बुधबारै भएको पहिलो खेलमा ४ नम्बर वडाको हुप्र फुटबल टिमलाई १–० गोल अन्तरले हराउँदै २ नम्बर वडाको वनस्खण्डी क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको ४१ औं मिनेटमा किपर अघि बढेको मौका छोप्दै धु्रब श्रेष्ठले गरेको गोल नै वनस्खण्डीको जितको लागि निर्णायक बन्यो । ४ नम्बर वडाले केही राम्रो मूभ बनाएको भएपनि त्यसलाई वनस्खण्डीका डिफेण्डर विक्रम बानियाँ र लक्ष्मण बिडारीले निष्तेष पारिदिएका थिए ।
खेलको म्यान अफ दी म्याच भएका वनस्खण्डी टिमका निश्चल लामा बलले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
फागुन २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहेको छ । जारी प्रतियोगितामा भोली बिहीबार ९ र ६ नम्बर वडाको बीचमा पहिलो खेल हुने छ भने दोस्रो खेल ८ र १९ नम्बर वडाको बीचमा हुनेछ । १९ नम्बर वडाले ‘बाइ’ पाएको थियो भने ८ नम्बर वडाले १७ नम्बर वडालाई हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो ।
