देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको छ-नेपाल

तु खबर संवाददाता
२०७४ फाल्गुन २२, मंगलवार १३:१०

काठमाडौँ, २२ फागुन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने दृढता व्यक्त गर्नुभयो ।

नेपालभित्रै केही शक्तिले वामपन्थी अधिनायकवादी हुन्छन् भनेर गलत प्रचार गरेको टिप्पणी गर्दै नेता नेपालले भन्नुभयो, “वामपन्थी जनताको भावनामा विश्वास गर्छन् । कसैले चिन्ता नगरे हुन्छ । वामपन्थीले अधिनायकवादको बाटो समात्दैनन् । लोकतन्त्र खुम्चिन्छ कि, राज्यका निकायका अनावश्यक राजनीतीकरण गर्छन् कि भन्ने चिन्ता गर्नु आवश्यक छैन ।”

देशलाई आर्थिक–सामाजिक रुपान्तरणको दिशामा अगाडि बढाउँदै बेरोजगारीको अन्त्य गरी एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पु¥याउन सकिने बताउनुभयो । नेता नेपालले जित्नेले अहंकार र हार्नेले काम गर्नै नदिने वातावरण बनाउन नहुने धारणा तथा सत्ता र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “प्रतिपक्ष वेटिङ गभर्मेण्ट हो । शुरुदेखि नै विरोध गर्ने र काम गर्न दिन्न भन्ने प्रवृत्ति सबैले त्याग्नुपर्छ । लडाइँ, झगडा र द्वन्द्वको युग सकिएर शान्तिपूर्ण तवरले विकासको युगमा मुलुक प्रवेश गरेको छ । ”

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले नेपाली जनतालाई सुशासन र न्यायको अनुभूति दिने तथा नेपालको उत्पादकत्वको विकास गर्न सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता नेपालले भन्नुभयो, “छिट्टै केपी ओली नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्नेछ । मुलुक अगाडि बढ्ने सिंगो खाका पाउनेछ ।” सबैको बुद्धिमानी र सुझबुझपूर्ण कार्यका कारण संविधानसभा नेपालमा सफल भएको र तोकिएको समयमा संविधान लेखन सम्पन्न भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै नेपालको संविधानले सबै पक्षलाई समेट्ने प्रयास गरेको तथा पिछडिएको क्षेत्र र समुदायलाई राज्यको मूलप्रवाहमा ल्याएको उल्लेख गर्नुभयो ।

भ्रष्टाचारको जालोले विकास निर्माणको काम रोकिने गरेको दृष्टान्त पेश गर्दै उहाँले आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको भौतिक विकासलाई एकीकृत रुमपा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*