मेयरकपमा आज पनि दुई खेल हुँदै
मकवानपुर, २२ फागुन । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा फागुन १९ गतेदेखि जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ ।
जारी प्रतियोगितामा मंगलबार ८ नम्बर वडा र १७ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १६ नम्बर वडा र १३ नम्बर वडाको बीचमा हुनेछ । २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैंयासहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।
