मेयरकप : पदपोखरी फुटबल टिम विजयी, गोल रक्षक म्यान अफ दि म्याच घोषित

तु खबर संवाददाता
२०७४ फाल्गुन २१, सोमबार १८:१४

-चन्द्र घलान

मकवानपुर, २१ फागुन । हेटौंडामा फागुन १९ गतेबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल भएका छन् । यो समाचार तयार पार्दासम्म पहिलो खेल समापन भइसेको छ भने दोस्रो खेल चलिरहेको छ । पहिलो खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिमले वडा नम्बर ५ पिप्लेलाई पराजित गरेको छ ।

हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा पदमपोखरीका लागि खेलको ३७ औँ मिनेटमा अशोक घलानले पेनाल्टी मार्फत गोल गरे । त्यस्तै ५५ औँ मिनेटमा सुरज पाख्रिनले दोस्रो गोल गरेर पदमपोखरीलाई जित दिलाए । यता वडा नम्बर ५ का तर्फबाट खेलको ६९ औँ मिनेटमा एन्जल महर्जनले १ गोल गरेका थिए । अन्तत खेल २–१ गोल अन्तरले पदमपोखरीले जितेको छ ।

खेल अवधिभर वडा नम्बर ५ का धेरै पोष्ट प्रहारलाई रोकेका पदमपोखरीका गोल रक्षक सुचन लोप्चन म्यान अफ दि म्याच घोषणा भए । उनले वडा नम्बर ५ का सञ्जिव अर्यालले पेनाल्टी प्रहार गर्दा समेत बचाउ गरेका थिए ।

पदमपोखरी टिमलाई हौसला दिन खेल मैदानसम्म पुगेका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले आफ्नो टिमले राम्रो खेल प्रदर्शन गरेको भन्दै खुशी व्यक्त गरेका छन्, साथै जितको लागि बधाई समेत व्यक्त गरेका छन् ।

त्यस्तै यो समाचार तयार पार्दासम्म वडा नम्बर वडा नम्बर ११ र वडा नम्बर १४ को फुटबल टिम भिडीरहेको छ । खेल निकै नै रोमाञ्चक बनेको र वडा नम्बर ११ ले अग्रता लिएको खेल मैदानबाट पत्रकार गणेशदर्पण अधिकारीले जानकारी दिएका छन् ।

प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।
यो वर्षको मेयर कपमा विजेता टिमले १ लाख ५० हजार तथा उपविजेता टिमले ७५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् । नकआउटमा खेलाईने खेलमा उत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयका दरले पुरस्कार पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*