नेकपाले राजिनामा मागेपछि हेटौँडाका मेयर महतले भने–‘खै मलाई थाहा छैन’

तु खबर संवाददाता
२०७४ फाल्गुन २१, सोमबार १७:२०

मकवानपुर, २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामा माग गरेको विषयलाई लिएर अहिले हेटौँडा तात्तिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत जनपरिषद् नेपालले मेयर महतको राजिनामा माग गर्दै महतलाई उनकै कार्यालयमा गएर उनकै हातमा राजिनामा मागपत्र थमाई दिएका थिए ।

आफ्नै जनपरिषद चलाउने रणनीति लिएर हिँडेको विप्लव नेतृत्वको नेकपाले यसरी राजिनामा मागेपछि अब महतले के गर्लान् भन्ने कुरामा सबैको चासो देखिएको छ । कतिपयले विप्लवसँग महत झुक्न सक्ने अवस्था भएको आँकलन समेत गरेका छन् । तर तु खबरले यस विषयमा मेयर महतसँग कुराकानी गर्दा उनी झुक्ने पक्षमा देखिएनन् । बरु उल्टो राजिनामा माग गर्नु केटाकेटी खेलेजस्तो लागेको महतले बताए । ‘काम गर्दै जाँदा यस्ता झिनामसिना अवरोधहरु आईरहन्छन्, यसले मलाई कुनै प्रभाव पारेको छैन ।’ उनले भने, ‘पत्रमा के लेखेको छ मैले खोलेर हेरेको छैन, मलाई थाहा छैन ।’

मेयर महतलाई जनताले नै चुनेर मेयर बनाएकाले उनले तत्कालै राजिनामा दिनुपर्ने बाध्यता नभएको एक जमातको ठम्याई छ । तर नेकपाले भने उनले राजिनामा दिनुपर्ने आधारहरु समेत राजिनामा माग पत्रमा उल्लेख गरेको छ ।

महत हेटौँडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएर आएदेखिनै उनले भ्रष्टाचार, कमिशनखोर र दलालहरुको संरक्षण गर्ने गरेको भन्दै उनको राजीनामा माग गरिएको नेकपा मकवानपुरका इन्चार्ज ज्वालाले बताएका छन् । जनतालाई शान्ति सुरक्षा र सुख दिनु पर्ने जिम्मेवारी बोकेका मेयर महतले जनतालाई सास्ती दिएर दलालहरुको संरक्षण गरिरहेको ज्वालाको आरोप छ । दलालको संरक्षण गरेकै कारण उनको राजिनामा माग गरिएको बताइएको छ ।

मेयर महतले जनताको सेवाको लागि काम गर्नु साटो जनतालाई दुःख मात्रै दिइरहेको ज्वालाले दाबी गरेका छन् । मेयर महतले तत्काल राजीनामा दिए मात्रै नगरवासी जनताको भलो हुने इन्चार्ज ज्वालाको भनाई छ । राजीनामा माग पत्रमा उल्लेख भए अनुसार, महतले राजीनामा नदिएमा उनलाई जनकारवाहीको चेतावनी समेत दिइएको छ । हालका जनप्रतिनिधिहरुले राजीनामा दिएपछि नेकपाले छुट्टै जनसत्ता निर्माण गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टीले देशभर नै यो अभियानलाई निरन्तरता दिइरहेको इन्चार्ज ज्वालाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*