चुरेहिलमा बिरामीको मृत्यू भएपछि मृतकको परिवार आक्रोशित, अस्पताल प्रशासनसँग छलफल गर्न समिति गठन
मकवानपुर, २० फागुन । मकवानपुर हेटौँडा–११ थानाभर्याङमा रहेको चुरेहिल अस्पतालमा अपरेशन गरेका एक बिरामीको मृत्यू भएपछि मृतकका आफन्तहरु आक्रोशित भएका छन् । आक्रोशित आफन्तहरुले केही बेर अस्पताल प्राङ्गणमा नाराबाजी समेत गरेका थिए ।
अस्पताल प्रशासन र मृतकका आफन्तहरुबिच छलफलका लागि भोलि बिहान ९ बजेको समय थप गरिएको र वडा नम्बर ३ का अध्यक्षको अध्यक्षतामा ७ सदस्यीय समिति गठन समेत गरिएको छ ।
अस्पतालका म्यानेजिङ डाइरेक्टर रविरमण अधिकारीले अहिले अस्पतालमा सामान्य अवस्था रहेको जानकारी दिए । २ दिन अघि फागुन १८ गते हेटौडा ३ का पुण्यप्रसाद चौलागाईं दुर्घटनामा परि अस्पतालमा उपचारको लागि गएका थिए । त्यहाँ उनको अवस्था बिग्रदै गएपछि अपरेशन गरिएको थियो तर आज उनको दिउँसो करिब ३ बजेतिर मृत्यू भएको थियो ।
अधिकारीका अनुसार उनको पेटमा सानो चोट र खुट्टामा ठूलो लागेको थियो । बिरामीको पेटमा सानो चोट देखेपछि निगरानीमा राखेर उपचार गरेका थिए । तर अस्पताल भर्ना भएको बेलुका प्रेशर लो भएपछि उनलाई भिडियो एक्स रे गरेर पेटको चोट हेरिएको थियो । भिडियो एक्स रेमा ब्लिडीङ भएको देखेपछि उनको अपरेशन गरिएको थियो । तर अत्याधिक मदिरा सेवनका कारण अप्रेशनपछि उनको सेतो रक्त कोष बन्न नसक्ने अवस्था देखियो । डब्लुबिसी विरगञ्ज र चितवनमा मात्र पाउनेभएपछि चितवनबाट रगत माग गरिएको थियो । तर रगत आउन समय लागेपछि उनको मृत्यू भएको हो ।
यता आफन्तहरुले भने अस्पतालको लापरवाहीले बिरामीको ज्यान गएको आरोप लगाउँदै नाराबाजी गरेका छन् ।
