प्रदेश नं ३ को नाम ‘नेपालमण्डल’ उचित : सांसद् शाक्य
मकवानपुर २० फागुन । प्रदेश नं ३ को प्रदेशसभाका सदस्य डा अजयक्रान्ति शाक्यले सो प्रदेशको नाम ‘नेपालमण्डल’ राख्नु सबै दृष्टिकोणबाट उचित हुने बताएका छन् ।
लिच्छविकालदेखि यस प्रदेशमा रहेका क्षेत्रलाई ‘नेपालमण्डल’ भनिएको जनाउँदै नेकपा एमाले समानुपातिक सांसद् शाक्यले भूगोल, जनसंख्या र पहिचानका आधारमा सो नाम उचित हुने जनाउँदै नेवाः, ताम्सालिङ वा वागमती जोडिएका नामले सबै आधारलाई समेट्न नसक्ने जनाए।
आफ्नो अवधारणा आज यहाँ पत्रकारहरुलाई जानकारी गराउँदै उनले प्रदेशको स्थायी राजधानीका लागि काभ्रेको पाँचखाल, मण्डनभ्याली वा पलान्चोक भगवती उपयुक्त हुने पनि स्पष्ट गरे ।
सो प्रदेशसभाले पहिले राजधानीबारे निर्णय गरेपछि नामकरणको कार्यसूचीमा छलफल गर्ने बुझिएको छ ।
