माईती नेपालद्वारा ३६ हजार जना जोखिममा परेकाको उद्वार
मकवानपुर, १६ फागुन । माईती नेपालले हालसम्म ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा बालबालिकाको उद्वार गरेको जनाएको छ । माईती नेपालको २५ औँ वार्षिक उत्सव तथा मेची महाकाली जनचेतना अभियानको समापनको अवसरमा आज हेटौँडामा भएको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
संस्थाले जोखिममा परेका महिला र बालबालिकाको उद्वारसहित १८ हजार ५५ जनालाई कानुनी सहयोग गरेको जनाएको छ । त्यस्तै २५ हजार ३ सय २० जना प्रभावितलाई पूर्नस्थापना समेत गरेको छ ।
संस्थाको २५ औ वार्षिकोत्सवको अवसरमा हेटौँडाको भूटनदेवी स्कूल चौरबाट निकालिएको ¥याली बुद्धचोकमा पुगेर समापन समारोहमा परिणत भएको थियो । ¥यालीमा नेपाल स्काउट, नेपाल प्रहरी, विभिन्न संघसंस्था, महिला समूहको उपस्थिति थियो ।
हेटौडाको बुद्धचोकमा बुधबार आयोजित मेचीमहाकाली जनचेतना अभियान समापनसमापन समारोहमा बोल्दै प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले चेलिबेटी बेचबिखन विरुद्वको कार्यहरु गर्ने बताए । श्रेष्ठले देश संघीयतामा गईसकेको भन्दै अब आर्थिक समृद्वितर्फ सबैले ध्यान केन्द्रित गरे मानव बेचबिखन न्युनिकरण हुने बताए ।
समारोह माईति नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काको अध्यक्षता तथा ३ नम्बर प्रदेशका सभामुख श्रेष्ठको प्रमूख आतिथ्यमा भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, महिला तथा बालबालिका कार्यालय हेटौँडाका प्रमूख विष्णुकुमारी लामिछाने, हेटौँडा उपमहानगरपालिका प्रमूख हरिबहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका उपसभामुख भगवती पुडासैनी लगायतको उपस्थिति थियो । माईती नेपालको देशभरि २९ वटा जिल्लामा शाखा विस्तार रहेको बताईएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सकृय रहँदै आएको माईती नेपालले मेचीमहाकाली जनचेतना अभियान फागुन १० गतेबाट सुरु गरेको थियो ।
